लोभलाग्दो छ गंगबु आवास क्षेत्रको ज्येष्ठ नागरिक पार्क
कृष्णमणि पराजुली
प्रत्येक क्षणमा मानिस बुढो हुँदो रहेछ । त्यसैले होला अंग्रेजी भाषामा जन्मिने बित्तिकै मानिसको उमेरलाई ओल्ड भनिएको । मानिस प्रारम्भमा शिशु हुन्छ । बालक हुन्छ । किशोर हुन्छ । युवा हुन्छ । प्रौड हुन्छ । यसरी उमेरको चरण पार गर्दा गर्दै मानिसलाई पत्तै हुँदो रहेनछ – आफू बुढो भएको । अहिले बुढो भन्ने शब्द त्यति राम्रो नहुने भएकोले राज्यले सुविधा नदिए पनि राम्रो शब्द भने दिएको छ – त्यो हो ‘जेष्ठ नागरिक’ ।
नेपालको कुल जनसङ्ख्याको १०% ज्येष्ठ नागरिक भएको तथ्याङ्कले देखाउँछ । यो संख्या सानो होइन । यो समूह यति अनुभवी र परिपक्क छ कि यसले सालाखाला ८० वर्षको अनुभव, ज्ञान, सीप, बुद्धि, बोकेको हुन्छ । यिनै अवयवका आधारमा घरपरिवार, समाज र देशसमेत चलिआएको छ । तर, यो यथार्थतालाई कसैले बुझेको छैन र बुझ्न पनि चाहँदैन । यसकारण जेष्ठ नागरिकलाई समाज र राज्यले समेत उपेक्षा गरेको अहिलेको अवस्था हो ।
जेष्ठ नागरिकलाई एउटा बुढो रुखसँग तुलना गर्न सकिन्छ । कुनै पनि रुखले लामो अवधि सम्म मानिसलाई फाइदा गरेको हुन्छ । त्यसले घामपानी, हुरीबतास, असीनालगायतका कुरा सँधै सहेको हुन्छ । रुख बुढो नहुन्जेलसम्म त मानिस यसै लाभदायी नै हुन्छ ,अन्तिम अवस्थामा पनि त्यही रुखबाट विभिन्न किसिमका दैनिक उपयोगी वस्तु र कलात्मक कृति निर्माण गरेको हुन्छ मानिसले । हो , जेष्ठ नागरिक पनि त्यस्तै हुन् बुढा रुख जस्ता । जसले जीवन पर्यन्त सेवा दिइरहेका हुन्छन् । बिडम्बना के देखिन्छ भने तिनै ज्येष्ठ नागरिकलाई कसैले पनि वास्ता गरेका हुँदैनन् ।
हो, विकसित मुलुकमा जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ । सडकमा हिँड्दाको कुरा गर्नुहोस् वा यातायातको कुरा गर्नुहोस् वा कतै लाइनमा बस्नुपर्दाको कुरा गर्नुहोस् वा हवाईजहाज चढदाको कुरा गर्नुहोस् । ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेकै हुन्छन् । कोही जेष्ठ नागरिक हुनुहुन्छ भनेर सोधेकै हुन्छन् । तर, नेपाल जस्ता अल्पविकसित मुलुकहरुमा भने ज्येष्ठ नागरिकलाई राज्यले केही सुविधा तथा सहजीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपनि व्यवहारमा आएको देखिँदैन । बस चढ्दा जेष्ठ नागरिकलाई दुई सिट सुरक्षित भनिन्छ तर त्यहाँ अरु नै हटाकट्टा आएर बसेका हुन्छन् । जेष्ठ नागरिकको मुखमा एकोहोरो हेरेका हुन्छन् तर सिट छोड्दैनन् । टिकटमा सुविधा भनिन्छ तर कन्डक्टरले पुरै भाडा असुल्छ । यस्ता कुरा सबैले देखी आएको तितो सत्य नै हुन् ।
जेष्ठनागरिक को हो, को होइन भन्ने कुरा पनि प्रथम दृष्टिमा नै जो कोहीलाई थाहा हुन्छ । कसैले परिभाषित गर्नै पर्दैन । ऊ आफै परिभाषित भएको हुन्छ । एउटा अनुभवी र खारिएको दिमाग भएको । बुद्धि, ज्ञान, विवेक र परिपक्क भएको । साथै शारीरिक रुपमा कमजोर देखिने एउटा अनुहार हो । उमेरको कारणले गर्दा मात्र उसका ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरु कमजोर हुँदै गरेका हुन्छन् । त्यसले गर्दा उसलाई आफ्नो शरीर पनि भार भएको हुन्छ । जुन व्यक्ति कमजोर छ उसैलाई उपेक्षित गरिने अहिले जुन परम्पराको विकास भएको छ यसले निश्चय नै अन्ततोगत्वा राज्यलाई समेत बेफाइदा पुर्याउन सक्दछ ।
अहिले जेष्ठ नागरिकले यो भएन । ऊ भएन । यसो गर्नुपर्यो । उसो गर्नुपर्यो भनेर भन्नै हुँदैन । राम्रो नराम्रो जे आउँछ त्यसैलाई स्वीकार गर्नु पर्दछ । किनकि तपाईंले भनेको कुरो त्यहाँ बिक्दै बिक्दैन । कसैले पत्याउँदै पत्याउँदैन । यस अवस्थामा तपाईंले कुनै पनि कुरामा प्रतिवाद पनि गर्न सक्नु हुन्न । अब भन्नुहोस्, ज्येष्ठ नागरिकको अवस्था कस्तो रहेछ त ? त्यसकारण ज्येष्ठ नागरिकले अरुको दया र सहयोगमा बाँच्ने होइन कि आफैले आफ्नो लागि केही आधार खडा गर्नुपर्दछ । सबै जेष्ठ नागरिक कमजोर पनि हुँदैनन् । संगठित रुपमा केही गर्न नसके पनि एक आपसमा सहयोग गर्ने वातावरणको निर्माण गर्नु पर्दछ । अहिलेको आवश्यकता पनि यही नै हो ।
ज्येष्ठ नागरिक औपचारिक रूपमा संगठित हुन सक्ने अवस्था त्यति देखिदैन । केन्द्रिय तहमा गठन भएको सँस्थाले पनि खासै काम गर्न सकेको छैन । त्यसैले अनौपचारिक रुपमा भेला भएर आफ्ना कुराहरु आदानप्रदान गर्ने नै राम्रो पक्ष रहेछ । अहिले प्रत्येक मध्यान्नमा सबै भेला भएर आपसमा छलफल गर्ने एउटा राम्रो थलो भएको छ – कामनपा २६, गंगवु आवास क्षेत्रमा स्थापित जेष्ठ नागरिक पार्क ।
जेष्ठ नागरिक घरमा बस्दा आफ्ना कुरा सुनाउने र अरुका कुरा सुन्ने अवसर हुँदो रहेनछ । यस पार्कमा भने यस्ता कुरा सुनाइने र सुन्ने अवसर मिल्छ नै । लामो अनुभवले खारिएका, विभिन्न क्षेत्रका काम गरेका व्यक्तिहरूका विचारहरु निश्चय नै उपयोगी हुन्छन् । सायद त्यसैले होला यहाँ आउने ज्येष्ठ नागरिकको संख्या पनि बढ्दै गएको छ ।
सराहनीय पक्ष के छ भने यो जेष्ठ नागरिक पार्क नामले मात्र पार्क होइन । पार्कमा हुने सबै सुविधा उपलब्ध छन् । यहाँ बगैँचा, बोटबिरुवा, फलफुल, चौर लगायत पार्कको बीचमा ठूलो चौतारो निर्माण गरिएको छ । जहाँ ३०–३५ जना बस्न सकिन्छ । बस्नको लागि बेन्चहरूको पनि व्यवस्था छ । चौताराको अतिरिक्त छुट्टै टहरा पनि निर्माण गरिएको छ । यहाँ पनि ३०–३५ जना बस्न सकिन्छ । पानी ओत्न,े घाम छेक्ने र यसो वरिपरि घुम्ने ट्रेल पनि छ । यस्तो लोभलाग्दो काम गरिदिने कामनपा २६ वडालाई धन्यवाद दिनै पर्दछ । शौचालयको व्यवस्था भएकोले पनि ज्येष्ठ नागरिकलाई झनै सुविधा पुगेको छ । यसरी ज्येष्ठ नागरिकको अवस्था र आवश्यकतालाई बुझेर निर्माण गरिएका पार्कहरु अन्यत्र कमै होलान् ।
लाग्छ – जेष्ठ नागरिक कसैको निगाहमा बाँच्न चाहँदैन । बरु उसको जिन्दगीभरको पशिनाबाट अरुलाई बाँच्न सिकाएको छ । अरुको आश गरेको हुँदैन उसले । ठूलाठूला अपेक्षा र चाहना पनि राख्दैन उसले । यति मात्र चाहन्छ ऊ कसैबाट उपेक्षित हुन नपरोस् । उसले आफैले एउटा लामो इतिहास निर्माण गरेको छ । त्यसैको जगमा अहिलेको समाज अडिएको छ । तर, यो कुरो कसले बुझेको छ र !
ज्येष्ठ नागरिक कसैको निगाहमा बाँच्न चाहँदैन । बरु उसले अरुलाई खुसी बनाएको छ यद्यपि आफू रित्तै किन हुन नपरोस् । अरुको आश गर्दैन । जीवनको अन्तिम अवस्था सम्म पनि अरुलाई सहयोग गर्ने अरु कोही नभएर ज्येष्ठ नागरिक नै हुन् ।
यो नखाउ भन्दा ऊ खाँदैन । त्यहाँ नजाऊ भन्दा ऊ जाँदैन । यस्तो लाउनु पर्दैन भन्दा उ लाउँदैन । अरुले जे भन्यो उ मानिदिन्छ । सही दिन्छ । ऊ जतिको आज्ञाकारी सायदै अरु होला । यस्तो अवस्थामा पनि आफूले जति सक्छ उसले सहयोग गरेकै हुन्छ । यद्यपि घर, परिवार, समाज र राज्य राज्यबाट उसलाई परै पारिएको किन नहोस् ।
गङ्गबु आवास क्षेत्रमा निर्माण गरिएको यो ज्येष्ठ नागरिक पार्कले गाउँघरका भन्ज्याङ, चौतारी , देउराली र सहर बजारको डबलीको झल्को मेटाई दिएको पाइन्छ । त्यसैले होला यहाँ ज्येष्ठ नागरिक मात्र नभएर अरुहरु पनि आउने क्रम बढ्दै गएको छ । कतिपय व्यक्तिहरू ज्येष्ठ नागरिकको अनुभव र पुराना कुरा मन पराएर आउने गरेका छन् । त्यसैले यो पार्क ज्येष्ठ नागरिकको मात्र नभएर सबैको साझाको रुपमा रहेको छ । सहरको मध्यभागमा यति राम्रो पार्क निर्माण गरेर सुविधा उपलब्ध गराउनुलाई राम्रै मान्न सकिन्छ । त्यसैले ज्येष्ठ नागरिक समूहको तर्फबाट सबैलाई स्वागत गर्दै पुनः कामन पा २६ लाई धन्यवाद ।
हालः अमेरिका




