प्रकृतिको देन नै रहेछ क्यालिफोर्नियाकोे योसेमिटी
कृष्णमणि पराजुली / डा.उदय चन्द्रकान्त गोर
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने यो राष्ट्रिय निकुञ्ज निश्चय नै अपूर्व रहेछ र विश्वका प्रसिद्ध निकुञ्ज मध्येमा यो पनि एक रहेछ । किनभने क्षेत्रफल, प्राकृतिक सौन्दर्य, चट्टान, ग्रेनाइट, उपत्यका, नदीनाला, झरना, पदमार्ग, पशुपंछी, वनस्पती, बनजंगल, जैविक विविधताजस्ता अनगिन्ती विशेषताहरुले गर्दा यसको आकर्षण र महत्व बढ्दै गएको देखिन्छ । विशेष प्रकारका विशेषता बोकेको निकुञ्ज भएकोले अहिले विभिन्न प्रकारका अध्ययन अनुसन्धान भएका देखिन्छन् । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सुचिकृत भए पछि झनै यसको महत्व बढ्दै गएको छ ।
३०२७ वर्ग किलोमिटरमा फैलिएको योसेमिटी राष्ट्रिय निकुञ्ज क्षेत्रफलको आधारमा त्यति ठुलो नहुन सक्दछ तर यस भित्र पाइने विभिन्न सम्पदाहरुले गर्दा यसका बेग्लै विशेषता रहेछन् । जैविक विविधता, भूगर्र्भीय वनावट जस्ता कुराहरु अद्धितीय नै देखिन्छन् ।
यसको भौगलिक अवस्थिति अनौठो किसिमको देखिन्छ । यसको उचाई ४ हजार मिटर भन्दा बढी भएको हुनाले विभिन्न पशु, पंछी, जनावर र वनस्पती पाइन्छन् । नेभदा पर्वत श्रृंखलामा अवस्थित भएको हुनाले हीमनदीको बहावले गर्दा राम्रो उपत्यका निर्माण हुनुको साथै अद्भुत चट्टानहरु वरीपरी रहेका छन् । चट्टानहरु यति विशाल छन् कि तिनीहरुको कल्पना नै गर्न सकिदैन । योसेमिटी राष्ट्रिय निकुञ्ज यस्तो अद्धितीय दृश्य हो जसले एकचोटी अवलोकन गरेपछि पटक पटक आई रहन मन लाग्छ । हिमनदीले बनाएको विभिन्न किसिमका आकृति देख्दा अचम्म लागेर आउँछ कसरी निर्माण भए होलान । आश्चर्य लाग्दो अर्को कुरा के छ भने यस क्षेत्रमा गर्मीमा धेरै गर्मी, उच्च क्षेत्रमा चिसो, हिउँदमा हिमपात र चैत्र वैशाखमा हिउँ पग्लिएर नदी तथा झरना बनेर पग्लने हुनाले ज्यादै रमाइलो वातावरण निर्माण हुँदो रहेछ । यसकारण दृश्यावलोकन गर्न जानेहरुको भिडलाई व्यवस्थापन गर्न स्थानीय निकुञ्ज प्रशासनलाई चुनौती हुँदो रहेछ ।
योसेमिटी राष्ट्रिय निकुञ्ज विश्वमा नै नाम कमाएको निकुञ्ज हो । यही निकुञ्ज हेर्नको लागि मात्र भए पनि विदेशी तथा स्वदेशी नागरिक आउँदा रहेछन् । प्रत्येक शनिवार , आइतवार र अन्य विदाका दिनहरुमा मानिसको भीड थामी नसक्ने हुँदो रहेछ ।
यहाँ विभिन्न जनावर, चराचुरुंगी, वनस्पति , भौगोलिक अवस्थिति आदि कुराको खानी नै भएकोले अध्ययन अनुसन्धान गर्नेहरुको लागि पनि एकदम उपयुक्त रहेछ । हातमा क्यामेरा, ब्याइना कुलर लिएर हिड्नेहरुको संख्या पनि उल्लेख्य नै देखिन्थ्यो । अजंगका ग्रेनाइट चट्टान, नदीनाला, खोल्साखोल्सी, हेरी राखौँजस्तो हरियाली घाँसे मैदान देख्दा कसको मन रमाउँदैन र !
योसेमिटी राष्ट्रिय निकुञ्जको पश्चिम पट्टी रहेको अर्को आकर्षण भनेको एल क्यापिटान रहेछ । यसको स्पेनी भाषामा नाइके भन्ने अर्थ रहेछ । सवभन्दा अग्लो भएकोले नाइके नाम दिइएको हुन सक्दछ । यो पनि ग्रेनाइट चट्टानको एक भाग रहेछ । यो भयंकरको चट्टान १०० मिलियन पहिले पृथ्वीको सतहमुनी म्याग्मा चिसिएर बनेको भन्ने वैज्ञानिकहरुको अनुमान रहेको छ ।
विश्वमा नै प्रसिद्ध भएकोले पर्वतारोहणका लागि आकर्षण रहेछ । तल फेदीबाट माथि हेर्दा मुण्टो निकै मर्काउनु पर्दो रहेछ । सामान्य हेराईबाट पूरै उचाई देखिदैनथ्यो । यसको उचाई ९०० मिटर भन्दा पनि माथि उठेको रहेछ । यो पर्वत आरोहणको लागि खुला भए पनि पूर्व अनुमति लिनु पर्ने रहेछ । एकदम ठाडो भिर भएकोले कसरी आरोहण गर्दा हुन हामी जस्ता साधारण मानिसले कुनै अन्दाज नै गर्न सकिदैन । सूर्य उदाउँदा र अस्ताउँदाको समयमा चट्टानमा परेका किरणहरुको दृश्य विशेष आकर्षक हुँदा रहेछन् । विश्वका ठुला रक क्ल्यामिङ्ग मध्ये एल क्यापिटान पनि पर्दो रहेछ ।
योसेमेटिको अर्को आकर्षण भनेको हाफ डोम चट्टान रहेछ । हाफ डोमको अर्थ अर्ध गोलाकार चट्टान । यस ठाउँमा पुग्न नसक्नेहरुले ग्लेसिएर पोइण्टबाट हेर्दा रहेछन् । राम्रो सँग देख्न सकिने र यसको आकृती तथा वनावटको चित्र क्यामेराले कैद गर्न सकिने भएको हुँदा सबैको लागि आकर्षण बन्न पुगेको छ । ठुलो अग्लो भएकोले टाढा टाढाबाट पनि देख्न सकिन्थ्यो । हाफ डोमको नगिजबाटै झरेको झरनाको दृश्य पनि ज्यादै आकर्षक हुँदो रहेछ । यसको आरोहण गर्न पनि पूर्व अनुमती आवश्यक पर्दोे रहेछ । त्यति ठाडो भिरबाट कसरी आरोहण गर्दाहुन् अचम्म लाग्दछ ।
योसेमिटी झरना अमेरिकाका अग्ला झरना मध्ये एक हो । यसको उचाई ७३९ मिटर रहेको छ र माथिल्लो , बीचको र तल्लो गरी तीन भाग रहेका छन् । वसन्त ऋतुमा हिउँ पग्लिए पछि झरनाको आकर्षण झनै बढ्दो रहेछ । अमेरिकामा सबैभन्दा अग्लो भएकोले विश्वमा नै प्रख्यात रहेछ । यहाँ जानको लागि धेरै पदमार्ग प्रयोग गर्न सकिर्दो रहेछ । यहाँ सम्म पुग्न त्यति कठिन नभएको हुनाले धेरैजसो पर्यटकहरु यहाँका झरनाहरुको अवलोकन गरेर मात्र पनि फर्कदा रहेछन् । यहीँबाटै झरनाहरुको फोटो खिच्न सकिने भएकोले मानिसको भिडभाड निकै ठुलो हुँदो रहेछ । अन्य ठाउँ अवलोकन गर्न नसक्नेहरुको लागि यो ठाउँबाट पनि धेरै दृश्य देख्न सकिँदो रहेछ ।
योसेमिटी झरना
यस निकुञ्ज भित्रका धेरै झर्ना मध्ये अर्को प्रसिद्ध झरना भनेको भर्नाल रहेछ जहाँ अवलोकन गर्न जानेहरुको संख्या उल्लेख्य देखिन्थ्यो । भौगोलिक अवस्थिति कठिन भए पनि पर्यटकहरुको सुविधाको लागि पदमार्गलाई सकेसम्म सुविधाजनक बनाइएको रहेछ । वृद्ध मानिसहरु पनि सकि नसकि लौरोको सहारामा गएका देखिन्छन् । सायद उनीहरुलाई त्यहाँको प्राकृतिक दृश्यहरुले आकर्षित गरेको हुन सक्दछ । तल देखि माथि सम्म अलि अलि उकालो चढ्दै जानु पर्ने भएकोले न त उकालोको सताउँदो रहेछ न त थकाइले नै सताउँदो रहेछ । घना जंगलको शीतलता र मानिसको भिडको कारणले गर्दा यात्राको छुट्टै अनुभव हुँदो रहेछ । अर्को कुरा पर्यटकहरुलाई यात्रा गर्न सजिलो होस् भन्ने हेतुले अप्ठेरा ठाउँहरुमा ढुंगाका सिढीँ र यसको वरिपरि फलामको रेलिङ राखिएकोले निकै सजिलो बनाइएको रहेछ । जति जति उकालो चढिन्छ उती उती शीतलता र कौतुहल हुँदो रहेछ झरना हेर्नको लागि ।
झरनाको नगिच पुग्दा अलि अलि चिसोको अनुभव हुँदो रहेछ । हामी त्यहाँ जब पुग्यौँ यही नै हो स्वर्ग हो जस्तो लाग्यो । किनभने हामीले त्यस्तो अचम्मको दृश्य कहिल्यै देखेका थिएनौँ । अन्तिम गन्तब्य कठिन भए पनि कत्ति पनि अप्ठेरो महशुस भएन । मानिस झरनामा पुग्दै फर्किदैँ गर्दा उनीहरुको शरीर रुझेको देखिन्थ्यो । झरनामा नपुगीकन कसरी मानिस रुझ्छन् भन्ने जिज्ञासा धेरैमा लाग्न सक्दछ । यो स्वाभाविक पनि हो ।
जब झरनाको नगिज पुगिन्छ । त्यस समयमा झरनाको पानी तिव्र गतिले झर्दा पानीका साना साना बूँदहरु वरपर छरिँदा रहेछन् । तिनै पानीका साना साना थुप्रै कणहरुले पर्यटकहरुलाई सेरचन गर्दा रहेछन् । जसले गर्दा पर्यटकहरु निथ्रुुक्क रुझ्दा रहेछन् । यसले पनि मानिसलाई भिन्न किसिमको अनुभूति दिँदो रहेछ ।
झरनाको अर्को विशिष्ट विशेषता भनेको तिव्र गतिमा पानी झर्दा त्यहाँ सप्तरंगी ईन्द्रेणी पर्दो रहेछ । झरनाको एक छेउबाट अर्को छेउसम्म लामो लमतन्न परेको इन्द्रेणी त झनै मनमोहक देखिन्थ्यो । झरना, ईन्द्रेणी, पर्यटकको भीड, भौगोलिक अवस्थिति, ग्रेनाइट चट्टानको पहाड, जोखिमयुक्त पदमार्ग, फलामे रेलिङ् , चट्टाने ढुंगामा निर्माण गरिएको साँघुरो बाटोजस्ता कुराहरुले डर र आनन्दको संगम देखाएको हुन्थ्यो । सबै पर्यटकहरुले अवलोकन गर्ने झरना भनेको तल्लो झरना नै रहेछ । माथिल्लो झरना कस्तो छ भन्ने कुरा केही थाहा हुन सकेन । अहिले पनि कौतुहल नै रहेको छ । बुझ्नु पर्ने के कुरा रहेछ भने यो झरना सधैँ एकै किसिमको हुँदो रहेनछ । हिमपर्वतबाट आउने भएकोले वसन्त ऋतुमा हिउँ पग्लिएर ठुलो हुँदो रहेछ र अन्य अवस्थामा अलि सानो हुँदो रहेछ । त्यसकारण वसन्त ऋतुमा पर्यटकहरुको ठुलै भिड लाग्दो रहेछ ।

भर्नाल झरना
योसेमिटी निकुञ्ज अवलोकन गर्नको लागि धेरै मानिस पुग्ने भनेको नै ग्लेसियर प्वाइण्ट हो । यो भ्यू प्वाइण्ट हो जहाँबाट धेरै ठाउँ हेर्न सकिन्छ । लाग्छ –यो ठाउँले नै योसेमिटीको सम्पूर्णतालाई बुझाउन सक्दो रहेछ ।
ग्लेसियर पोइण्टको ठीक अगाडि हाफ डोम हेर्न सकिन्छ । अर्धचन्द्राकारको ग्रेनाइट चट्टानमा ठुलो पहाडजस्तो देखिने ढुंगा निश्चय नै सबैको लागि आकर्षण हुन्छ । योसेमिटी राष्ट्रिय निकुञ्ज भित्र सबै भन्दा बढी चिनिने प्राकृतिक स्थल रहेछ र यसको उचाई करिब २७ सय मिटर रहेछ । यसको आधा भाग काटिएको जस्तो देखिने भएकोले आधा गुम्वज भनिने पनि रहेछ । यो पनि पर्वतारोहण र पदयात्रीको लागि ज्यादै आकर्षण रहेछ । आरोहणको लागि भने अनुमति लिनु पर्ने रहेछ । यसैको छेउबाट झरेका झरनाले झनै यसको सुन्दरता बढाएको अनुभव हुन्छ ।

हाफ डोम चट्टान
ग्लेसियर पोइण्टबाट राम्रैसँग देख्न सकिने अर्को दृश्य भनेको भर्नाल झरना हो । जुन माथि पनि उल्लेख गरिसकिएको छ । यहाँबाट सम्पूर्ण योसेमिटी उपत्यका हेर्न सकिने भएकोले धेरै पर्यटकहरु यहीँबाट फर्किने पनि गर्दा रहेछन् । यो पोइण्ट धेरै अग्लो ठाउँमा भएको हुँदा तलतिर हेर्दा निकै डर लाग्दो रहेछ । छन्गाछुर टुप्पोबाट तलतिर हेर्दा निकै रमणीय स्थानहरु देख्न पाइन्छ । तलतिर सम्म हरियाली जमिन र त्यसमा रहेका घना जंगल । पर क्षितिज तिर आँखा लगाउँदा देखिने असंख्य ग्रेनाइटबाट बनेका चट्टाने पहाडले स्वभावैले सबैको मन लोभ्याएकै हुन्छन् । यहाँबाट तल हेर्दा निकै डरलाग्दो पनि रहेछ । एकदम भिरालो देखिने र बीचमा अलिकति पनि समथल ठाउँ नभएको कारणले गर्दा डरलाग्नु स्वभाविकै थियो । तल उपत्यकामा सानातिना चटक्क परेका होटल र लजहरुले झनै आकर्षित बढाएका देखिन्थे ।
विश्वविद्यालयका विद्यार्थी, अनुसन्धानकर्ता र अन्य खोजकर्ताहरुको लागि भूगोल, भूगर्भशास्त्र, जीवविज्ञान, वातावरण, वनस्पति विज्ञानजस्ता धेरै विधामा अनुसन्धान गर्न उपयुक्त ठाउँ रहेछ योसेमिटी । त्यसकारण योसेमिटी राष्ट्रिय निकुञ्ज खुला प्रयोगशालाको रुपमा लिइएको पाइन्छ ।
विश्वमा धनी र विकसित भनेर चिनिने देश अमेरिका नै हो । लाग्छ – अमेरिकालाई यस अवस्थामा पुर्याउने केवल विकास मात्र होइन । प्रकृतिको देन पनि हो भन्ने कुरा योसेमिटी राष्ट्रिय निकुञ्जले प्रमाणित गरेको छ । निकुञ्ज भित्रको हरियाली उपत्यका, यहाँ भित्र देखिने ठुला ठुला ग्रेनाइट चट्टानका पहाड, हिमनदी तथा झरना, ठुला र अग्ला सेक्कोया रुखहरु , विभिन्न प्रकारका वनस्पति, पशु पंछी तथा जनावर, तालतलाउ तथा पोखरी हुन् । यिनीहरुलाई त प्रकृतिको देन भन्न सकिएला तर त्यहाँ सम्म पुग्नको लागि निर्माण गरिएका पूर्वाधारहरु पनि नेपालको लागि ज्यादै अनुकरणीय त छँदै छन् । अब नेपालले पनि विभिन्न पर्यटकीय संभावनाहरुलाई यथार्थमा परिणत गर्नु पर्दछ ।
हालः अमेरिका




