आजदेखि सरकारी कार्यालयहरूको कार्यालय समय परिवर्तन
काठमाडौं । आज (कात्तिक १६ गते)देखि सरकारी कार्यालयहरूको कार्यालय समय परिवर्तन भएको छ। अब आगामी तीन महिनासम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म हिउँदे समयतालिका लागू गरिएको हो। यस अवधिमा यसअघि लागू रहेको बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको कार्यालय समय एक घण्टा घटाइएको छ ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार हिउँदको समयमा दिन छोटो हुने र साँझ चाँडै पर्ने भएकाले कार्यालय समय समायोजन गरिएको हो । माघ १५ गतेसम्म सबै सरकारी कार्यालयहरू साताको पाँच दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ ।
सरकारी कार्यालयमा हाल शनिबार र आइतबार सार्वजनिक बिदा कायम छ। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । त्यसयता सरकारले उक्त व्यवस्था निरन्तर कायम राख्दै आएको छ ।




