नेपाल टेलिकमको ‘हुलाक सिम सेवा’ सुरु: अब अनलाइन आवेदनबाटै घरमै सिमकार्ड पाइने
काठमाडौं । अब नेपाल टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ । सरकारले सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्यसहित ‘हुलाक–सिम सेवा’ सञ्चालनमा ल्याएको छ, जसमार्फत अनलाइन आवेदन दिएपछि हुलाकले सेवाग्राहीले चाहेको स्थानमै सिमकार्ड पुर्याइदिने व्यवस्था गरिएको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बुधबार मन्त्रालयबाट उक्त सेवाको औपचारिक शुभारम्भ गरे। सेवाअन्तर्गत ग्राहकले नयाँ प्रिपेड ‘फिजिकल’ सिमकार्डका लागि अनलाइन आवेदन दिएपछि हुलाकमार्फत घरदैलोमै सिम प्राप्त गर्न सक्नेछन् ।
यसका लागि सेवाग्राहीले esim.ntc.net.np मा लगइन गरी ‘पोस्टल सिम पोर्टल’मा प्रवेश गरेर आवश्यक विवरण भर्नुपर्नेछ । आवेदनका क्रममा व्यक्तिगत विवरण, फोटो, नागरिकता वा राहदानीको प्रतिलिपि, नजिकको ठेगाना (ल्याण्डमार्क) र आफूलाई पायक पर्ने टेलिकम काउन्टर छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ ।
टेलिकमले कागजात प्रमाणीकरण गरी आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै शुल्क तिर्न सकिनेछ । सिमकार्डको मूल्य ९० रुपैयाँ र हुलाकमार्फत डेलिभरी शुल्क ७० रुपैयाँ निर्धारण गरिएको छ। उक्त रकम बैंकिङ एप, डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ ।
भुक्तानी सम्पन्न भएपछि नजिकको हुलाक कार्यालयबाट सिमकार्ड पठाइनेछ। सिम कहाँसम्म पुग्यो भन्ने जानकारी ट्र्याकिङ प्रणालीमार्फत हेर्न सकिनेछ भने अन्तिम चरणमा हुलाक कर्मचारीले घरमै पुगेर सिमकार्ड हस्तान्तरण गर्नेछन् ।
सेवाको शुभारम्भकै क्रममा मन्त्री तिमिल्सिनाले अनलाइनबाट नयाँ सिमका लागि आवेदन दिए। सुन्धारास्थित टेलिकम कार्यालयबाट आवेदन प्रमाणीकरण भएपछि उनले अनलाइनमार्फत शुल्क भुक्तानी गरे र त्यसलगत्तै हुलाकमार्फत मन्त्रालयमै सिमकार्ड उपलब्ध गराइयो । हुलाक कर्मचारी पुष्कर बस्नेतले मन्त्रीले उल्लेख गरेको स्थानमा सिमकार्ड पुर्याएका थिए ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले संयुक्त रूपमा मन्त्री तिमिल्सिनालाई सिमकार्ड हस्तान्तरण गरेका थिए। आवेदन दिएको करिब आधा घण्टामै मन्त्रीको हातमा सिमकार्ड पुगेको थियो ।
सरकारले सहरी क्षेत्रमा आवेदन स्वीकृत र भुक्तानी भएपछि करिब दुई घण्टाभित्र तथा ग्रामीण क्षेत्रमा बढीमा तीन दिनभित्र सिमकार्ड पुर्याउने लक्ष्य लिएको छ ।
कार्यक्रममा मन्त्री तिमिल्सिनाले तोकिएको समयभन्दा पनि छिटो नागरिकको हातमा सिमकार्ड पुर्याउने गरी काम गर्न निर्देशन दिए। उनले सरकारी सेवा नागरिकले चाहेकै स्थानमा उपलब्ध गराउन सके समय र खर्च दुवै बच्ने उल्लेख गर्दै सरकारी सेवालाई थप डिजिटल र नागरिकमैत्री बनाउने अभियानलाई निरन्तरता दिइने बताए ।
उनले हुलाकलाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने सरकारको योजनाअन्तर्गत यो सेवा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पोस्टपेड सिमकार्ड तथा टेलिकमका अन्य प्रशासनिक सेवासमेत अनलाइनमा आधारित बनाउन आग्रह गरे ।
सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले हुलाक–सिम सेवाले टेलिकमको सिम बिक्री–वितरण प्रणालीमा नयाँ अभ्यासको सुरुआत गरेको बताए । उनले सेवाको दिगोपनाका लागि टेलिकम र हुलाक दुवैले समन्वय गर्नुपर्ने तथा हुलाक कर्मचारीलाई आवश्यक तालिम र अभिमुखीकरण प्रदान गर्नुपर्नेमा जोड दिए ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीले आजदेखि नागरिकले माग गरेकै स्थानमा भौतिक सिमकार्ड पुर्याउने व्यवस्था लागू भएको जानकारी दिइन्। हुलाक सेवा विभागकी महानिर्देशक भट्टराईले यो सेवाबाट सहरदेखि दुर्गम क्षेत्रसम्मका नागरिकले सहज रूपमा टेलिकमको सिमकार्ड प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरिन् ।




