दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
काठमाडौं । विजयादशमीको अवसरमा सेफर्ड कलेज काठमाडौंले शुक्रबार काठमाडौंको बानेश्वरस्थित असहाय सेवा सदनमा दशैँ विशेष कार्यक्रम सम्पन्न गरेको छ । कलेजको बीआईटी र बीएमटी कार्यक्रमका विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग प्रदान गर्नुका साथै सांगीतिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा आश्रममा आश्रित ज्येष्ठ नागरिकसँग दशैँको खुसी साटासाट गर्दै उनीहरूबाट टीका तथा आशीर्वाद ग्रहण गरिएको थियो । विद्यार्थीहरूले प्रस्तुत गरेका सांगीतिक कार्यक्रमले ज्येष्ठ नागरिकसँगको भेटघाटलाई थप आत्मीय बनाएको थियो । सो अवसरमा आश्रमलाई सहयोग रकमसमेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका प्रशासनिक अधिकृत प्रेमराज उप्रेतीले दाताहरूको सहयोगबाट संस्था अघि बढ्न सफल भएको बताए । दाताहरूको सहयोग अमूल्य रहेको उल्लेख गर्दै उनले विद्यार्थीहरूको अग्रसरतामा आयोजित यस्ता कार्यक्रमले नयाँ पुस्तामा सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कलेजका सहायक क्याम्पस प्रमुख प्रेम पुन्थोकीले दशैँको पूर्वसन्ध्यामा मनोरञ्जनसँगै सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए । कार्यक्रममा कलेजका कोअर्डिनेटर जयराज खड्का, डीभी ग्रुपका एड्भाइजर अभिषेक रोयलगायतको उपस्थिति थियो । आश्रममा आयोजित कार्यक्रमपछि कलेजमा दशैँ विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सेवाप्रतिको भावना अभिवृद्धि गर्नुका साथै दशैँको खुशी र सद्भाव बाँड्ने अवसर प्रदान गरेको कलेजले जनाएको छ ।



