हिमालय एअरलाइन्स्को ऐतिहासिक काठमाडौँ–हाङझाउ–काठमाडौँ सिधा उडान सुरु
काठमाडौं । हिमालय एयरलाइन्सले नेपाल र चीनबीच हवाई सम्पर्क विस्तार गर्दै काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु गरेको छ ।
यही सेप्टेम्बर ३० देखि सुरु उडानमार्फत नेपाल र चीनबीचको हवाई सम्पर्क थप सुदृढ हुने एयरलाइन्सले विश्वास व्यक्त गरेको छ ।
हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलसम्म सातामा दुई सिधा उडान सञ्चालनमा ल्याएको हो ।
ऐतिहासिक काठमाडौं–हाङझाउ उडान एच–९ २२५ ले सेप्टेम्बर ३० मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलुका ५:३७ बजे उडान भरेर अक्टोबर १ को बिहान १:०८ बजे हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
हाङझाउ–काठमाडौं उडान एच–९ २२६ ले अक्टोबर १ मा स्थानीय समयानुसार बिहान ३:१८ बजे उडान भरेर सोही दिन बिहान ६:२८ बजे काठमाडौंमा १५४ चिनियाँ पर्यटकसहित अवतरण गरेको एयरलाइन्सले जनाएको छ ।
काठमाडौं–हाङझाउ उडान प्रत्येक आइतबार र बुधबार तथा हाङझाउ–काठमाडौं उडान प्रत्येक सोमबार र बिहीबार सञ्चालन हुने तालिका छ । नयाँ सेवाले यात्रुको पहुँच विस्तार गर्नुका साथै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने एयरलाइन्सको मुख्य उद्देश्य रहेको बताए । चीनमा नयाँ गन्तव्य खोज्दै नियमित उडान सञ्चालन गर्दै आएको र नयाँ बजार खोज्ने एयरलाइन्सको योगदान उल्लेखनीय रहेको उनले उल्लेख गरे ।
काठमाडौं–हाङझाउ–काठमाडौं रुटको उडानले दुई देशका नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै पर्यटन र व्यापार प्रवद्र्धनमा सहयोग गर्ने उनको भनाइ छ । उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुलाई नेपाल र चीन दुवैतर्फका प्राकृतिक सौन्दर्य तथा विविध अवसरसँग जोड्ने लक्ष्य रहेको उनले बताए ।
काठमाडौं–हाङझाउ–काठमाडौं उडानको टिकट एयरलाइन्सका टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत बुक गर्न सकिनेछ ।
हिमालय एयरलाइन्स सन् २०१४ मा नेपाल–चीनबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापना भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । एयरलाइन्सले नेपाल र विभिन्न मुलुकबीच जनस्तरको सम्पर्क विस्तारसँगै व्यापार तथा पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्यका रूपमा राखेको जनाएको छ ।
हाल हिमालय एयरलाइन्ससँग चार विमान छन् । तीमध्ये तीन एयरबस ए३२०–२१४ र एउटा एयरबस ए३१९–११५ छन् । एयरलाइन्सले मध्यपूर्व र दक्षिण एसियाका संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गर्दै आएको छ ।




