सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्री एआइआरडीसीको उपाध्यक्षमा निर्वाचित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड सलिको (SALICO) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री Association of Insurers and Reinsurers of Developing Countries (AIRDC) को उपाध्यक्षमा निर्वाचित भएका छन्।
कम्पनीका अनुसार जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न एआईआरडीसीको साधारण सभा
बाट क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन्। उनी एआईआरडीसीको कार्यकारी ट्रष्टी बोर्डको सदस्यसमेत रहनेछन्।
विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव आदानप्रदान तथा बीमा क्षेत्रको विकास र विस्तारलाई प्रवर्द्धन गर्ने उद्देश्यले एआईआरडीसी स्थापना भएको कम्पनीले जनाएको छ।
एआईआरडीसीको आगामी ट्रष्टी बोर्डको बैठक अप्रिल ६, २०२७ मा फिलिपिन्सको मनिलामा आयोजना हुने तय भएको छ। यस्तै, सन् २०२८ मा काठमाडौंमा आयोजना हुने २५औँ एआईआरडीसी कन्फरेन्सको स्थानीय आयोजक समितिको अध्यक्षको जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्नेछन्।
कम्पनीका अनुसार उक्त सम्मेलनको आयोजनाका लागि क्षेत्रीको नेतृत्वमा नेपाल र एआईआरडीसीका सदस्य राष्ट्रहरूबीच समन्वय तथा सहकार्य गरिनेछ।
एआईआरडीसीको उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्य प्रवर्द्धन गर्नुका साथै नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीलाई एआईआरडीसीको सदस्यताका लागि प्रोत्साहित गर्ने भूमिका निर्वाह गर्ने अपेक्षा कम्पनीले गरेको छ।



