चाडपर्वमा यातायात व्यवस्थित गर्न पूर्वाधार समितिले सरकारलाई दियो पाँच बुँदे निर्देशन
काठमाडौँ । दशैँ, तिहार, छठलगायतका चाडपर्वमा यात्रुको आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले पाँचबुँदे निर्देशन दिएको छ ।
समितिको असोज १२ गते बसेको बैठकले चाडपर्वमा हुने यात्रुको चाप, सडकको अवस्था तथा यात्राका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि सम्बन्धित निकायलाई विभिन्न निर्देशन दिएको हो।
समितिले यात्रुको चापअनुसार पर्याप्त सार्वजनिक सवारीसाधन परिचालन गर्न र निर्धारित बसपार्कबाट मात्रै सवारी सञ्चालन गर्न निर्देशन दिएको छ। तोकिएको स्थानबाट टिकट बिक्री गर्ने तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन पनि भनिएको छ।
त्यस्तै, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री सेवा उपलब्ध गराउन तथा यात्रु सहायता कक्ष र आवश्यक सहजीकरणको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सडकको अवस्था र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गरी वैकल्पिक मार्ग तयार राख्न समितिले भनेको छ। सवारीसाधनको प्राविधिक परीक्षण, चालकलाई पर्याप्त विश्राम तथा गति नियन्त्रण सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।
क्षमताभन्दा बढी यात्रु बोक्ने कार्य नियन्त्रण गर्दै एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन गर्न र सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्न समितिले निर्देशन दिएको छ।
टिकट र भाडामा ठगी रोक्न निर्देशन
समितिले यात्रुले टिकट नपाउने, तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने तथा टिकटमा अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न तत्काल कार्ययोजना बनाउन निर्देशन दिएको छ।
सहज रूपमा टिकट पाउने व्यवस्था, तोकिएको भाडादरको प्रभावकारी कार्यान्वयन तथा यात्रुको गुनासो सुनुवाइका लागि बलियो संयन्त्र बनाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको छ।
यसैगरी, यात्राका क्रममा खानेपानी, खाजा, खाना लगायतका उपभोग्य वस्तुको मूल्य र गुणस्तरमा यात्रु ठगिन नदिन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
उपसमितिमा राजु नाथ पाण्डे चयन
यसअघि असोज ५ गते बसेको समितिको बैठकले २०८३ सालको दशैँ, तिहार तथा छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सहज, व्यवस्थित र मर्यादित बनाउन उपसमिति गठन गरेको थियो। उक्त उपसमितिमा माननीय राजु नाथ पाण्डेलाई सदस्यका रूपमा चयन गर्ने निर्णय पनि समितिले गरेको छ।
समितिले चाडपर्वको समयमा यात्रुको चाप व्यवस्थापनसँगै सडक सुरक्षा, सवारीसाधनको अवस्था, टिकट तथा भाडा प्रणाली र यात्रुको आधारभूत सुविधामा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।



