परराष्ट्रमन्त्री शिशिर खनालको दाबी: “प्रधानमन्त्री बालेनको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कद र प्रतिष्ठा थप उच्च बनाएको छ।”
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा गरेको सम्बोधनलाई विश्व समुदायले उच्च महत्व र चासोका साथ लिएको बताएका छन् ।
महासभामा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन् ।
उनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि बनेका कान्छा प्रधानमन्त्रीले विश्व मञ्चमा देशलाई कसरी प्रस्तुत गर्छन् भन्नेमा अन्तर्राष्ट्रिय स्तरमै ठूलो प्रतीक्षा रहेको आफूले पाएको बताए ।
‘उहाँको सम्बोधनपछि विश्वभरिका समाचारका हेडलाइन उहाँको सम्बोधन बनेका छन्,’ मन्त्री खनालले भने, ‘यस वर्ष राष्ट्रसंघको महासभामा सबैभन्दा बढी हेरिएको मन्तव्यको भिडियो पनि सम्माननीय प्रधानमन्त्रीज्यूकै छ । यसले संसारभरि कति धेरै चासो छ भन्ने प्रस्ट पार्छ ।’
प्रधानमन्त्री शाहको सम्बोधनपछि न्युयोर्कमा भएका विभिन्न औपचारिक तथा अनौपचारिक भेटवार्ताहरूमा विदेशी प्रतिनिधि तथा कूटनीतिज्ञहरूले मन्तव्यको खुलेर प्रशंसा गरेको उनले बताए ।
विश्व समुदायले प्रधानमन्त्रीले विश्व मञ्चमा राखेका कुरा र उठाएका मुद्दाहरूप्रति बलियो ऐक्यबद्धता जनाएको मन्त्री खनालको भनाइ छ।
परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछिको पुनर्निर्माण र जलवायु संकटविरुद्ध जुध्न अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग गर्न गहिरो चासो देखाएको पनि बताएका छन् ।



