अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन र सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले Disability Management Information System (DMIS) लाई Social Information Management System (SIMS) मा प्राविधिक रूपमा एकीकृत गरिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र UNICEF को सहकार्यमा सामाजिक संरक्षण नागरिक समाज सञ्जाल (SPCSN) मार्फत कार्यान्वयन गरिएको DMIS को SIMS मा एकीकरण कार्य सम्पन्न भएसँगै अपाङ्गता सम्बन्धी सूचना र सामाजिक संरक्षण व्यवस्थापनलाई एउटै डिजिटल प्रणालीमा जोड्ने आधार तयार भएको हो।
प्रणालीको औपचारिक हस्तान्तरण २८ सेप्टेम्बर २०२६ मा सम्पन्न भएको छ। हाल उक्त प्रणाली नेपालका ७५३ वटै स्थानीय तहमा विस्तार भइसकेको छ। यससँगै देशभर अपाङ्गता परिचयपत्र वितरण तथा सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई थप व्यवस्थित र एकीकृत ढङ्गले अघि बढाउन सकिने भएको छ।
एकीकृत प्रणालीले अपाङ्गता परिचयपत्र वितरणका मापदण्डलाई मानकीकरण गर्न, तथ्याङ्कको अभिलेखीकरण तथा व्यवस्थापन सुधार गर्न र प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ। स्थानीय तहदेखि संघीय तहसम्म आवश्यक सूचना सहज रूपमा उपलब्ध हुने भएकाले अपाङ्गता भएका व्यक्तिका लागि लक्षित सामाजिक संरक्षण कार्यक्रमको योजना निर्माण, सेवा प्रवाह र अनुगमनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार डिजिटल प्रणालीको विस्तारले अपाङ्गता भएका व्यक्तिसम्बन्धी तथ्याङ्कलाई विश्वसनीय, व्यवस्थित र प्रमाणमा आधारित निर्णय प्रक्रियासँग जोड्ने महत्वपूर्ण आधार तयार गरेको छ। यसबाट आवश्यकता पहिचान गरी सेवा तथा कार्यक्रमलाई थप लक्षित बनाउनसमेत सहयोग पुग्नेछ।
७५३ वटै स्थानीय तहलाई एउटै डिजिटल प्रणालीमा जोड्दै गरिएको यो एकीकरण अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक संरक्षण सेवालाई थप एकीकृत, तथ्यमा आधारित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि बनेको छ।



