नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन
काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।
कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर-क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो।
एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर-क्षेत्रीय सदस्य मुलुकबाट एकरएक जना उपाध्यक्ष रहने प्रावधान छ। यस पटक गैर-क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षको रूपमा चयन भएको छ।
वार्षिक बैठकका अवसरमा माननीय अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले उक्त जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको छ।
बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउण्टेबललाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले पूर्वाधारमार्फत हुने पुँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेकोमा जोड दिनुभयो।
उहाँले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनहरूमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, नेपालजस्ता विकासशील मुलुकहरूको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउनुपर्ने बताउनुभयो। उहाँले स्वदेशी तथा विदेशी निजी पुँजीलाई आकर्षित गर्ने किसिमले वित्त उपलब्ध गराउनुपर्ने विचार पनि व्यक्त गर्नुभयो।



