सानिमा बैंकको २२ औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा बैंक लिमिटेडको २२ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार २०८३ आषाढ मसान्तको साधारण शेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र अग्राधिकार शेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित)प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे २२ औं वार्षिक साधारणसभाबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा ३.५५ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २९१.२१ अर्ब रुपैयाँ, कुल निक्षेप २४९.९३ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी २०३.९९ अर्ब रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८३) निष्क्रिय कर्जा २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत, कर्जा निक्षेप अनुपात (मासिक औसत) ८०.७७ प्रतिशत रहेको छ ।



