आज कोशी र बागमतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र गहिरो न्यून चापीय क्षेत्रका रूपमा विकास भएको छ। उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।
हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौंमा पनि बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरैजसो हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मधेश तथा कोशीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ। ती प्रदेशका धेरैजसो हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा भने केही स्थानमा वर्षा तथा हिमपात हुनसक्नेछ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा मधेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।



