रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ रंग र नयाँ भेरियन्टमा
काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले नयाँ टार्म्याक ब्ल्याक भेरियन्टसँगै टप भेरियन्टमा मुम्बई यल्लो र मुनसट ह्वाइट गरी दुई नयाँ रंग थपेको हो।
नयाँ भेरियन्टमा एलोय ह्विल्स, डिजी-एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएस लगायतका सुविधा छन्।
हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइकलिङ’ को मूल विशेषतालाई भने यसमा पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
नेपालमा अघिल्लो वर्ष मात्र सार्वजनिक भएको हन्टर ३५० आफ्नो कम्प्याक्ट डिजाइन, नियो-रेट्रो लुक र सहज राइडिङ अनुभवका कारण नयाँ पुस्ताका राइडरमाझ लोकप्रिय हुँदै आएको छ।
टार्म्याक ब्ल्याकमा नयाँ भेरियन्ट
नयाँ भेरियन्टलाई दैनिक प्रयोगमा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।
यसमा हन्टरको मौलिक रोडस्टर डिजाइनलाई कायम राख्दै एलोय ह्विल्स, राउन्ड ह्यालोजन हेडल्याम्प, डिजी-एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल समावेश गरिएको छ।
त्यस्तै, सिंगल च्यानल एबीएस र स्लिप एन्ड असिस्ट क्लच पनि यसका प्रमुख विशेषता हुन्। यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ।
मुम्बई यल्लो र मुनसट ह्वाइट थपियो
हन्टर ३५० को टप भेरियन्टमा थपिएका दुई नयाँ रंगले ग्राहकलाई आफ्नो रुचि र शैलीअनुसार मोटरसाइकल छनोट गर्ने थप अवसर दिनेछन्। मुम्बई यल्लो मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रंग हो। चम्किलो पहेँलो फिनिसले मोटरसाइकललाई थप आकर्षक र युवा लुक दिएको छ।
त्यस्तै, मुनसट ह्वाइट मा ‘ओरायन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स र आकाशीय तत्व प्रयोग गरिएको छ। यसले हन्टर ३५० लाई फरक र व्यक्तिगत पहिचान दिने कम्पनीले जनाएको छ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यदविन्दर सिंह गुलरियाले हन्टर ३५० नेपालमा नयाँ पुस्ताका राइडरको रोजाइ बन्दै गएको बताए। उनका अनुसार यसको डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताले हन्टर ३५० को लोकप्रियता बढाएको छ। नयाँ भेरियन्ट र रंगले थप राइडरलाई हन्टर ३५० रोज्ने अवसर दिने उनले बताए।
नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका निर्देशक मेघ राज पौडेलले पनि हन्टर ३५० ले नेपाली राइडरमाझ राम्रो सम्बन्ध बनाएको बताए। नयाँ भेरियन्ट र रंगले ग्राहकका लागि थप विकल्प सिर्जना गर्ने र यसले हन्टर ३५० को बजारलाई थप विस्तार गर्ने उनको विश्वास छ।
मूल्य र उपलब्धता
रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ टार्म्याक ब्ल्याक भेरियन्टको मूल्य ४ लाख ८७ हजार रुपैयाँ (एक्स-शोरुम, नेपाल) तोकिएको छ।
त्यस्तै, मुम्बई यल्लो र मुनसट ह्वाइट रंगमा उपलब्ध टप भेरियन्टको मूल्य ५ लाख ११ हजार रुपैयाँ (एक्स-शोरुम, नेपाल) रहेको छ।
नयाँ भेरियन्ट तथा नयाँ रंगका हन्टर ३५० को बुकिङ तथा बिक्री १६ सेप्टेम्बर २०२६ देखि नेपालभर रहेका अधिकृत रोयल इन्फिल्ड डिलरमार्फत सुरु हुनेछ।
रोयल इन्फिल्डको बारेमा
सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको रोयल इन्फिल्ड विश्वकै पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो। बेलायतबाट सुरु भएको यसको उत्पादन सन् १९५५ देखि भारतको मद्रासमा हुँदै आएको छ। सहज राइडिङ, आकर्षक डिजाइन र व्यक्तिगत शैलीलाई प्राथमिकता दिने रोयल इन्फिल्डले आफ्नो अवधारणालाई ‘प्योर मोटरसाइकलिङ’ नाम दिएको छ।
रोयल इन्फिल्डका उत्पादनमा बियर ६५०, क्लासिक ६५०, बुलेट ६५०, गुरिल्ला ४५०, हन्टर ३५०, हिमालयन ४५०, क्लासिक ३५०, बुलेट ३५० लगायतका मोडल छन्। कम्पनीले हालै आफ्नो पहिलो विद्युतीय मोटरसाइकल एफएफ.सी ६ पनि सार्वजनिक गरेको छ।
आइचर मोटर्स लिमिटेड अन्तर्गत रहेको रोयल इन्फिल्डका भारतका प्रमुख सहर तथा बजारमा २,१०० भन्दा बढी र विश्वका ८० भन्दा बढी देशमा करिब १,२०० बिक्री केन्द्र छन्। कम्पनीका नेपालसहित बंगलादेश, ब्राजिल, थाइल्यान्ड, अर्जेन्टिना र कोलम्बियामा सीकेडी एसेम्बली प्लान्ट सञ्चालनमा छन्।



