स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै
काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।
इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना हुन लागेको पिंकवाक आगामी असोज १७ गते शनिबार बिहान ६ बजे सुरु हुनेछ। यसअन्तर्गत सहभागीहरूले बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गर्नेछन्।
पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।
स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ।
इन्फिनिट केयर्सका तर्फबाट दिजुप तुलाधर इकाइ प्रमुखले पिंकवाकलाई केवल पदयात्रामा सीमित नभइ सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताए।
इन्फिनिट केयर्स इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालिको सामाजिक उत्तरदायित्वअन्तर्गतको एक कार्यक्रम हो यो। इन्फिनिट सर्भिसेज बहुराष्ट्रिय आईटी सेवा तथा डिजिटल इन्जिनियरिङ क्षेत्रमा कार्यरत कम्पनी इन्फिनिट कम्प्युटर सोलुसन्सको नेपालस्थित सफ्टवेयर विकास तथा आईटी सेवा केन्द्र हो, जहाँ ६०० भन्दा बढी जनशक्ति कार्यरत रहेको कम्पनीले जनाएको छ।



