राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच कर्मचारीलाई तलबी बचत खाता र सरल कर्जा दिने सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच संस्थानका कर्मचारीलाई तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
बिहीबार सिंहदरबार प्लाजास्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन गर्नेछ। त्यस्तै, पेशाकर्मी सरल कर्जासहित अन्य बैंकिङ सेवा तथा सुविधा सहुलियत दरमा उपलब्ध गराउनेछ।
सम्झौताबाट सांस्कृतिक संस्थानका कर्मचारीलाई बैंकिङ सेवा लिन सहज हुने तथा बैंकको व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेल र पवन रेग्मी, उपकार्यकारी अधिकृत दुर्गाकुमारी कँडेल, रामकुमार थापा र निम्बल श्रेष्ठलगायत सहभागी थिए। सांस्कृतिक संस्थानका तर्फबाट प्रशासनिक अधिकृत सुदर्शन थापा, लेखा अधिकृत प्रेमध्वज जीसीलगायतको पनि उपस्थिति थियो।
राष्ट्रिय वाणिज्य बैंकका अनुसार बैंकले हाल सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेटेर ३१६ शाखा र ३३८ एटीएममार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले निक्षेप तथा कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।



