एलपी ग्यास उद्योगीमाथि मन्त्रीको अभिव्यक्तिप्रति संघको आपत्ति
काठमाडौँ । नेपालमा एलपी ग्यासको कारोबार गर्दै आएका उद्योगहरूले पाँच दशकभन्दा लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
संघले बिहीबार जारी गरेको विज्ञप्तिमा विभिन्न कालखण्डमा आइपरेका विपत्ति तथा महाविपत्तिका समयमा समेत उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन उद्योगीहरूले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरी निरन्तर सेवा दिँदै आएको उल्लेख गरेको छ। भदौ २४ गते संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्राकृतिक विपत्तिका समयमा ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन उद्योगीहरू आफ्नो सामर्थ्यले भ्याएसम्म इमानदारीपूर्वक खटिरहेको अवस्थामा मन्त्रीजस्तो अभिभावकीय तथा नेतृत्वदायी भूमिकामा रहेको व्यक्तिबाट गैरलोकतान्त्रिक, गैरजिम्मेवार, अमर्यादित तथा अशोभनीय अभिव्यक्ति आउनु खेदजनक भएको संघले जनाएको छ । अर्को पक्षलाई दोष देखाएर आफू पानीमाथिको ओभानो बन्न खोज्ने प्रवृत्तिले समस्याको समाधान नहुने भन्दै संघले वर्तमान अवस्थाको वस्तुनिष्ठ समीक्षा गर्नुपर्नेमा जोड दिएको छ ।
संघका अनुसार ७.१ केजीको आधा सिलिन्डर ग्यास १५ दिनका लागि भन्दै चार महिनासम्म निरन्तरता दिइनु, संघले गत चैत १६ गते नेपाल आयल निगमलाई पत्राचार गरी पुनः पूर्ण सिलिन्डरमा फर्काउन अनुरोध गरे पनि त्यसलाई सम्बोधन नगरिनु तथा त्यसपछि पनि सम्बन्धित निकायसँग पटक–पटक निर्णय परिमार्जनका लागि आग्रह गर्दा बेवास्ता गरिनु वर्तमान अवस्थाको विश्लेषण गर्दा महत्वपूर्ण विषय हुन् ।
त्यस्तै, ग्यास आयातमा पर्याप्त तदारुकता नदेखिनु, पूर्ण सिलिन्डर लागू भएपछि सिलिन्डरको मागमा अचानक वृद्धि हुनु र पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यास बुलेटको ढुवानी प्रभावित हुनुजस्ता कारणलाई समेत वर्तमान ग्यास अभावको समग्र विश्लेषणमा गम्भीरतापूर्वक लिनुपर्ने संघको भनाइ छ ।
कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए सम्बन्धित पक्षलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने र त्यसमा संघ सम्बन्धित निकायसँगै रहने स्पष्ट पारिएको छ। तर, बिना प्रमाण ग्यास उद्योगीलाई दोषी देखाउने तथा भौतिक कारबाहीको संकेत दिने किसिमका अभिव्यक्ति अत्यन्त आपत्तिजनक भएको संघले जनाएको छ ।
संघले कठिन परिस्थितिमा आफ्नो मुख्य उद्देश्य उपभोक्ताले अत्यावश्यक वस्तुका रूपमा रहेको एलपी ग्यास सरल र सहज रूपमा प्राप्त गर्न सकून् भन्ने रहेको स्पष्ट पारेको छ । विगतमा जस्तै आगामी दिनमा पनि सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्न तथा नेपाल सरकारका व्यवहारिक निर्देशन पालना गर्न संघ प्रतिबद्ध रहेको जनाएको छ ।
ग्यास आपूर्ति सहज बनाउन कठिन परिस्थितिमा सम्बन्धित निकाय, एलपी ग्यास उपभोक्ता तथा अन्य सरोकारवालाबाट प्राप्त सहयोग र साथप्रति संघले हार्दिक आभारसमेत व्यक्त गरेको छ ।



