घाम पावरद्वारा नेपालको पहिलो सोल्युबल लिड-फ्लो ब्याट्री सार्वजनिक
काठमाडौँ । घाम पावर नेपालले नेपालको पहिलो सोल्युबल लिड–फ्लो ब्याट्री सार्वजनिक गरेको छ । कम्पनीले सेप्टेम्बर ४ मा आयोजना गरेको विशेष प्रेस मिटमार्फत नेपालका लागि विकास तथा प्रदर्शन भइरहेको उदीयमान ऊर्जा भण्डारण प्रविधि सार्वजनिक गरेको हो ।
कार्यक्रममा University of Southampton का अनुसन्धानकर्ता प्रोफेसर रिचर्ड विल्सले ब्याट्रीको प्रत्यक्ष प्रदर्शन गरेका थिए । उनले SLFB कसरी काम गर्छ र यसको निर्माण प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे पत्रकार तथा ऊर्जा क्षेत्रका प्रतिनिधिलाई जानकारी गराएका थिए ।
SLFB मा प्रयोग भइसकेका ब्याट्रीबाट पुनःप्राप्त लिडलाई विद्युत् भण्डारणको मुख्य सामग्रीका रूपमा प्रयोग गरिन्छ । यस प्रविधिले प्रयोग भइसकेको लिडलाई पुनःप्रयोग गर्दै सौर्य तथा जलविद्युत्बाट उत्पादित ऊर्जा भण्डारण गर्ने विकल्पका रूपमा काम गर्ने कम्पनीले जनाएको छ ।
नेपालमा नवीकरणीय ऊर्जाको क्षमता बढ्दै जाँदा भरपर्दो ऊर्जा भण्डारणको आवश्यकता पनि बढिरहेको अवस्थामा SLFB प्रविधिले नवीकरणीय ऊर्जा एकीकरण तथा लामो अवधिको स्थिर ऊर्जा भण्डारणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रदर्शनका क्रममा प्रोफेसर विल्सले ब्याट्री चार्ज तथा डिस्चार्ज हुने प्रक्रिया, इलेक्ट्रोडमा लिड जम्मा हुने र पुनः हट्ने प्रक्रियाबारे प्रत्यक्ष रूपमा जानकारी दिएका थिए । सहभागीहरूले फ्लो ब्याट्री प्रविधिको नजिकबाट अवलोकन गर्नुका साथै अनुसन्धानकर्तासँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अवसरसमेत पाएका थिए ।
SLFB प्रविधिको विकास घाम पावर, University of Southampton, SOLead Energy र Swanbarton बीचको सहकार्यमा भइरहेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान विशेषज्ञता र स्थानीय ज्ञानलाई एकीकृत गरी प्रविधिलाई नेपालको परिस्थिति अनुकूल बनाउने उद्देश्यले सहकार्य भइरहेको कम्पनीले जनाएको छ ।
नेपालको स्वच्छ ऊर्जा क्षेत्रतर्फको महत्त्वाकांक्षा बढ्दै गएको अवस्थामा SLFB ले नेपालकै स्रोत र आवश्यकतासँग मेल खाने पुनःप्रयोग गरिएको सामग्रीमा आधारित ऊर्जा भण्डारण समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार सन् २०१० मा स्थापना भएको घाम पावर नेपाल प्रालि सौर्य ऊर्जा क्षेत्रमा कार्यरत कम्पनी हो । कम्पनीले ४ हजारभन्दा बढी आयोजनामार्फत १८ मेगावाट सौर्य क्षमता स्थापना गरेको जनाएको छ । यसबाट ८८ हजार ६३६ टनभन्दा बढी कार्बन उत्सर्जन घटाएको र ३३ हजार ७३ किलोलिटरभन्दा बढी डिजेल विस्थापन गरेको कम्पनीको दाबी छ ।
कम्पनीले सौर्य प्रविधिलाई स्मार्ट डाटा प्रणालीसँग एकीकृत गर्दै उद्योग, ग्रामीण समुदाय तथा कृषि क्षेत्रमा स्वच्छ ऊर्जा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । साथै, कम्पनीको काम संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यअन्तर्गत सुलभ स्वच्छ ऊर्जा, मर्यादित काम तथा आर्थिक वृद्धि र जलवायु कार्यसँग मेल खाने उल्लेख गरिएको छ ।



