प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब मौज्दात
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ २३ गते (८ सेप्टेम्बर) साँझसम्म कोषका ९ वटा रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख तथा २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।
अमेरिकी डलरलाई प्रतिडलर रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको मन्त्रालयले जनाएको छ।
रसुवा–भोटेकोशी बाढीपछिको अवधिमा मात्रै कोषमा रु. ७ अर्ब ६८ करोड ४४ लाख तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ। उक्त रकम विपद्अघिको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको हो।
भदौ २३ गते एकै दिन कोषमा रु. ३० करोड ६२ लाख तथा १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको छ। यसैबीच, राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रु. १ अर्ब हस्तान्तरण गरिएको छ।
अर्थ मन्त्रालयले विपद्बाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले स्वदेश तथा विदेशबाट निरन्तर सहयोग गर्ने व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।



