भोटेकोशीका बाढीपीडितलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको रु १ करोड १ लाख सहायता
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीको कारणले रसुवा जिल्ला, नुवाकोट जिल्लाको त्रिशुली, देवीघाट तथा धादिङ्ग जिल्ला लगायत क्षेत्रहरुमा ठूलो जनधनको क्षति भएकोले पुनर्निर्माण तथा पुनर्स्थापनाको लागि प्रभावित जनसमुदायको सहयोगार्थ ब्रह्माकुमारीज् नेपालले प्रधान मन्त्री राहत कोषमा रु १,०१,००,०००/- (अक्षरेपी एक करोड एक लाख मात्र) जम्मा गरेको छ।
औपचारिक रूपमा उक्त रकम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको तर्फबाट राजयोगिनी दिदी किरणज्यूले माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई चेक हस्तान्तरण गर्नुभयो।
यसै गरी यही भदौ २० गते शनिबारका दिन ब्रह्माकुमारीज् नेपालले भोटेकोशी नदीमा बाढी आएर दिवंगत हुनुभएका आत्माहरू तथा शोक सन्तप्त परिवार जनको शान्तिको लागि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो।
वीरेन्द्र अन्तर्राष्ट्रिय स्वीमिङ्ग कम्प्लेक्स, सातदोबाटोको हलमा आयोजित उक्त कार्यक्रममा १००० जना भन्दा बेसी राजयोगी तपस्वी प्रजापिता ब्रह्माकुमारी / ब्रह्माकुमार आमा, बुवा, दाजु,भाइ तथा दिदी, बहिनीहरूले ॐ ध्वनि लगाएर; योग तपस्याद्वारा योगदान गरेर, मौन धारण गरेर तथा मैनबत्ती बालेर मृतक आत्माहरू प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो।


