विपद्मा शंकर ग्रुपको ४ करोड सहयोग, २५ लाख बराबरको टेन्ट पनि वितरण
काठमाडौं । देशमा आइपरेको पछिल्लो प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ ।
शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
नगद सहयोगका अतिरिक्त ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित परिवारका लागि २५ लाख रुपैयाँ बराबरको २ हजार ५ सय थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराइसकेको जनाएको छ ।
विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै ग्रुपले उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी संयन्त्रप्रति आभार प्रकट गरेको छ ।
राष्ट्रिय संकटको घडीमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व रहेको भन्दै शंकर ग्रुपले यस्ता विपद्मा आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।

