भोटेकोशी बाढीबाट प्रभावित ऋणी तथा व्यवसायलाई सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रको उद्धार, राहत तथा आर्थिक पुनरुत्थानमा बैंक तथा वित्तीय क्षेत्र सक्रिय रहने जनाएको छ ।
सिबिफिनले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको शीघ्र खोज तथा उद्धारको अपेक्षा गरेको छ ।
बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधारसँगै बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा क्षति पुर्याएको सिबिफिनले जनाएको छ । प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले यसको असर ऋणी, व्यवसाय, बैंकिङ सेवा र समग्र आर्थिक गतिविधिमा पर्न सक्ने उसको आकलन छ ।
सिबिफिनका अनुसार मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता हुनेछ। प्रभावित क्षेत्रमा बैंकिङ पहुँच यथाशीघ्र सहज बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाहलगायत आवश्यक व्यवस्था गरिरहेका छन् ।
वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षति मूल्याङ्कनपछि आवश्यकता अनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण, व्यवसाय पुनःसञ्चालनका लागि सहयोग, पुनर्निर्माणका लागि आवश्यक वित्तीय सहजीकरण गरिने संघले जनाएको छ ।
गर्न सदस्य संस्थाका सञ्चालक समितिमार्फत आवश्यक समन्वय र सहजीकरण गर्ने सिबिफिनले जनाएको छ । त्यसैगरी, नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी प्रभावित क्षेत्रका लागि आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न पहल गर्ने सिबिफिनले प्रतिबद्धता जनाएको छ।
सिबिफिनले राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने भन्दै सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानमा सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार रहेको जनाएको छ ।


