भोटेकोशी बाढीपीडितका लागि शिवशक्ति ग्रुपद्वारा ५१ लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति शिवशक्ति ग्रुपले गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले विपदमा परी ज्यान गुमाउने नेपाली तथा विदेशी पर्यटकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले शिवशक्ति ग्रुपका अध्यक्ष राजकुमार अग्रवाल, सन्दीप कुमार अग्रवाल र राहुल कुमार अग्रवालसहित सम्पूर्ण कम्पनी परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरिएको हो।
उक्त सहयोग रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको जनाइएको छ। यसैगरी, रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि, बाराको तर्फबाट समेत १० लाख रुपैयाँ राहत सहयोग गरिएको छ।
शिवशक्ति ग्रुपले विपद्को यस कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिनु, उद्धार तथा राहत कार्यमा सहयोग गर्नु र प्रभावित नागरिकको जीवनमा आशा जगाउनु सबैको साझा दायित्व भएको जनाएको छ।
ग्रुपले सानो सहयोगसमेत विपद्मा परेका परिवारका लागि ठूलो सहारा बन्न सक्ने भन्दै निजी क्षेत्र, उद्योगी–व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न हार्दिक अपिल गरेको छ।
विपद्बाट प्रभावित परिवारलाई यस विषम परिस्थितिको सामना गर्न धैर्य र शक्ति मिलोस् तथा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शिवशक्ति ग्रुपले पीडित तथा प्रभावित समुदायप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गरेको छ।


