दिवाकर गोल्छा अर्गनाइजेसनले अस्थायी पुनर्वास केन्द्रलाई निर्माण सामग्री दिने
काठमाडौँ। हुलास ब्रान्डको मातृ कम्पनी दिवाकर गोल्छा अर्गनाइजेसनले बाढीपीडितको सहयोगका लागि हात बढाएको छ।
अर्गनाइजेसनले पछिल्लो समय आएको आकस्मिक बाढीबाट प्रभावित परिवारका लागि निर्माण गर्न लागिएको अस्थायी पुनर्वास केन्द्रका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराउने घोषणा गरेको हो।
उक्त केन्द्र निर्माणका लागि अर्गनाइजेसनले आवश्यक जस्तापाता तथा पाइप सहयोग गर्ने जानकारी दिएको छ। बाढीका कारण घर तथा जीविकोपार्जनका साधन गुमाएका परिवारलाई सुरक्षित र सम्मानजनक रूपमा अस्थायी बसोबासको व्यवस्था मिलाउन यो सहयोग गर्न लागिएको हो।
अर्गनाइजेसनका निर्देशक हिमांशु गोल्छाले विपद्का बेला समयमै उपलब्ध गराइएको सहयोगले घरबार तथा जीविकोपार्जन गुमाएका परिवारलाई ठुलो राहत पुग्ने बताएका छन्।
उनले भनेका छन्, ‘सङ्कटको समयमा समयमै गरिएको सहयोगले घर र जीविकोपार्जन गुमाएका परिवारका लागि ठुलो अर्थ राख्न सक्छ। यस्तो कठिन परिस्थितिमा निजी क्षेत्र समुदायको साथमा उभिनुपर्छ भन्ने हाम्रो विश्वास हो।’


