बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौं । नेपालमा बीवाईडीका आधिकारिक वितरक साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ७ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बीवाईडी र साइमेक्सले उक्त रकम योगदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
बाढीबाट प्रभावित नागरिक कठिन परिस्थितिबाट गुज्रिरहेका बेला नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग घोषणा गरिएको कम्पनीले जनाएको छ।
हालैको बाढीबाट रसुवा जिल्लामा ठूलो क्षति पुगेको छ। नेपाल–चीन जोड्ने महत्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको रसुवा प्रमुख व्यापारिक मार्गसमेत हो।
नेपालमा बीवाईडीका सवारीसाधन आयात हुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्व रहेको कम्पनीले जनाएको छ।
सहयोग घोषणा गर्दै बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले बाढीका कारण भएको विनाश र नेपाली जनताले भोग्नुपरेको कठिन अवस्थाप्रति बीवाईडी गहिरो दुःखी रहेको बताए।
उनले प्रभावित परिवार तथा समुदाय, उद्धारमा खटिएका टोली र घटनास्थलमा निरन्तर काम गरिरहेका सबैप्रति बीवाईडीको सहानुभूति रहेको उल्लेख गरे।
स्थानीय साझेदार साइमेक्ससँगको सहकार्यमा गरिएको सहयोगले सरकारका राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुर्याउने विश्वाससमेत उनले व्यक्त गरे।
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक. प्रालिले बीवाईडीसँग लामो समयदेखि दिगो विद्युतीय यातायातको विकास र विस्तारका लागि सहकार्य गर्दै आएको छ।
विद्युतीय सवारीसाधनको प्रयोग र दिगो यातायाततर्फको संक्रमणलाई तीव्रता दिने साझेदारीसँगै विपद्को यस कठिन समयमा देश र जनतासँग उभिने साझा प्रतिबद्धताका रूपमा पनि यो सहयोगलाई लिइएको कम्पनीले जनाएको छ।


