अपि पावर ग्रुपले नेपाल सरकारको राहत कोषमा पैतिस लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । विपद्मा ऐक्यबद्धता, संकटमा साथ भन्दै अपि पावर ग्रुपले नेपाल सरकारको राहत कोषमा पैतिस लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । हालै देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढी पहिरोका कारण अमूल्य जीवन गुमाएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो दुःख व्यक्त गर्दै कम्पनीले श्रद्धाञ्जली अर्पण गरेको छ । आफन्त गुमाएका शोकसन्तप्त परिवारजनप्रति अपि पावर ग्रुपले सहानुभूति तथा समवेदना प्रकट गरेको छ ।
प्राकृतिक विपत्तिले निम्त्याएको यस कठिन समयमा नागरिकको जीवन रक्षा, राहत तथा पुनर्स्थापनाका कार्यमा टेवा पुर्याउनु सबैको कर्तव्य ठानी मानवीय दायित्वलाई बोध गर्दै अपि पावर ग्रुपले नेपाल सरकारको राहत कोषमार्फत पैतिस लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको हो ।
यो सानो प्रयासले संकटमा परेका परिवारहरूलाई तत्काल राहत र पुनःजीवनको आधार खडा गर्न मद्दत पुग्नेछ भन्ने विश्वास कम्पनीले लिएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहत कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउन ग्रुपले सरोकारवाला निकायहरूसँग आग्रह गरेको छ ।
विषम परिस्थितिमा एक अर्काको सहारा बन्नु नै नेपालीको पहिचान भएको भन्दै यस संकटको सामना गर्न सबै एकजुट हुन कम्पनीले आग्रह गरेको छ ।


