रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय
काठमाडौँ । रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन् ।
नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् ।
प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारीहरु सम्पर्क बाहिर छन् ।
चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र वरपर रहेको एक जना सम्पर्क बाहिर छन् ।
यसैगरी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रहेर त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत ११ जना सम्पर्कमा बाहिर रहेका छन् ।
चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत केन्द्रमा ५१ जना सम्पर्कमा रहेका छन् भने अन्य सम्पर्कविहीन छन् ।
त्रिशुली ३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदार सम्पर्क विहीन छन् ।
प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्र र देविघाट जलविद्युत केन्द्रमा कार्यरत १/१ जना कर्मचारी सम्पर्क बाहिर रहेका छन् ।
रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा कार्य गर्ने एकजना सम्पर्क बाहिर रहेका छन् भने सोही वितरण केन्द्रको गोटागन्ती मिटर रिडर पनि सम्पर्कमा छैनन् ।
त्रिशुली २२० के.भी. ३ बि हबमा कन्ट्र्याक्टरको तर्फबाट कार्यरत रहेका १६ जना सम्पर्क विहीन छन् ।
रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न कन्ट्र्याक्टरको तर्फबाट मर्मत संभारमा तथा निर्माण कार्यमा कार्यरत रहेका ९२ जना पनि सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ ।
बाढीबाट कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठको टोली प्रभावित क्षेत्र पुगी अनुगमन गरेको छ । श्रेष्ठले हराइरहेकाहरुको खोज तथा उद्धारका लागि प्राधिकरणको टोली प्रभावित क्षेत्रमा परिचालन गरेका छन् । जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्नका लागि अर्को टोली स्थानीय क्षेत्रमा क्रियाशिल रहेको श्रेष्ठले बताए ।
निमित्त कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको छ । यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाहरुको विवरण संकलन गरी खोज तथा उद्धार कार्य जारी रहेको छ ।
भोटेकोशी बाढीबाट विद्युत् संरचनामा ठूलो क्षति
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ । ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन ्।
प्रभावित विद्युत् आयोजनाहरू
रसुवागढी जलविद्युत् आयोजना– १११ मेगावाट
सालासुङ्गी (साञ्जेन)– ७८ मेगावाट
माथिल्लो साञ्जेन– १४.८ मेगावाट
साञ्जेन– ४२.५ मेगावाट
चिलिमे– ५२ मेगावाट
लाङटाङ– २० मेगावाट
माथिल्लो त्रिशूली–३ ‘ए’– ६० मेगावाट
माथिल्लो मैलुङ– १४.८ मेगावाट
मैलुङ– ५ मेगावाट
त्रिशूली जलविद्युत् केन्द्र– २४ मेगावाट
देवीघाट जलविद्युत् केन्द्र– १४ मेगावाट
नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजना– २५ मेगावाट
प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ ।
बाढीका कारण विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् । खोज तथा उद्धार कार्य जारी छ ।
सम्पर्क विहीनमध्ये
त्रिशूली–३ ‘बी’ आयोजनाको साइटमा कार्यरत २१ जना
चिलिमे जलविद्युत् केन्द्रको पावरहाउस क्षेत्रमा ६ जना
चिलिमे जलविद्युत् केन्द्रको आवास क्षेत्रमा १ जना
त्रिशूली–३ ‘बी’ आयोजनामा चेस्को कम्पनीबाट खटिएका ११ जना
रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना
त्रिशूली–३ ‘ए’ को पावरहाउस मर्मतमा संलग्न ४५ जना
त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रका २ जना
रसुवा वितरण केन्द्रका २ जना
धादिङको त्रिशूली २२० केभी सबस्टेसनमा ठेकेदारमार्फत कार्यरत १६ जना रहेका छन् ।
रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा तथा नुवाकोट, धादिङ र गोरखामा आंशिक रूपमा अवरुद्ध भएको छ ।
धादिङको जहरेस्थित ३३ केभी सबस्टेसनमा करिब ५ फिट लेदो जमेको छ । डोजर प्रयोग गरी सफाइ भइरहेको छ।
विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ ।
त्रिशूलीस्थित २२० केभी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
चिलिमे २२० केभी हब टावरमा समस्या आएपछि प्रसारण अवरुद्ध भएको छ ।
क्षति पुगेर अवरुद्ध प्रसारण लाइन
समुद्रटार–त्रिशूली १३२ केभी
चिलिमे–त्रिशूली ६६ केभी
चिलिमे हब–त्रिशूली–३ ‘बी’ हब–मातातीर्थ २२० केभी
त्रिशूली–बालाजु ६६ केभी
विभिन्न प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको छ।
उद्धार तथा विद्युत् पुनःस्थापनाको प्रयास
प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ ।
फसेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने काम भइरहेको छ ।
सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।
वैकल्पिक माध्यमबाट विद्युत् प्रणाली सञ्चालन गर्न सकिने स्थान पहिचान गरी आंशिक रूपमा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ ।
सिन्धुपाल्चोकको समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालन गरी चौघोडा सबस्टेशन चालु गर्ने तयारी भइरहेको छ ।
गजुरीदेखि गल्छीसम्म धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ ।
सम्भव भएका स्थानमा पेट्रोलिङ, मर्मत तथा प्रसारण लाइन पुनःसञ्चालनको काम भइरहेको छ ।
विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा सम्बन्धित वितरण केन्द्रलाई प्रणाली सुचारु गर्न आवश्यक निर्देशन दिइएको छ ।


