गाडी मात्र होइन, ‘अटो-इकोसिस्टम’ बुझाउने १८औँ नाडा अटो शो
यो महिना नेपालले गाडी हेर्दै बितायो। अब अर्को हप्तादेखि गाडी किनेपछि वर्षौंसम्म आवश्यक पर्ने सेवा, पार्टपुर्जा, वित्तीय सुविधा र प्रविधि पनि एउटै थलोमा हेर्न पाइने भएको छ।
भदौ ९ देखि भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुँदैछ। ५० वर्ष पूरा गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल को स्वर्ण जयन्ती संस्करणसमेत रहेको यस प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्।
मेलामा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुनेछन्। तर यसपटकको अटो शोको विशेषता गाडीको संख्या मात्रै होइन। गाडी किनेपछि उपभोक्ताले वर्षौंसम्म प्रयोग गर्ने वस्तु तथा सेवाको ठूलो बजारसमेत प्रदर्शनीमा देखाइनेछ।
प्रदर्शनीमा करिब ७० कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेल्मेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र विद्युतीय सवारीसाधनका चार्जिङ उपकरण प्रस्तुत गर्नेछन्।
त्यस्तै, करिब १० बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले अटो लोन, सवारी बीमा र विद्युतीय सवारीका लागि लक्षित वित्तीय योजना प्रस्तुत गर्नेछन्।
गाडी छान्न तीन हप्ता, चलाउन दस वर्ष
उपभोक्ताले नयाँ गाडी किन्नुअघि केही दिन वा हप्ता विभिन्न ब्रान्ड र मोडल हेर्न सक्छन्। तर गाडी खरिदपछि त्यसको मर्मत, बीमा, ऋणको भुक्तानी, टायर, ब्याट्री, ल्युब्रिकेन्ट र अन्य पार्टपुर्जासँग वर्षौंसम्म सम्बन्ध कायम रहन्छ।
त्यसैले यसपटकको अटो शोले ‘गाडी किन्नुअघि’ मात्र होइन, ‘गाडी किनेपछि के गर्ने?’ भन्ने प्रश्नको जवाफ पनि एउटै ठाउँबाट दिने प्रयास गरेको छ।
प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणलगायत छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ। यसले उपभोक्तालाई सवारीसाधन छनोटसँगै त्यसको वित्तीय तथा सञ्चालनसम्बन्धी आवश्यकता बुझ्न सहज बनाउने आयोजकको भनाइ छ।
एउटै थलोमा विश्वका प्रमुख अटो ब्रान्ड
नाडा अटो शोमा यसपटक विभिन्न देशका सवारी ब्रान्ड एउटै थलोमा देखिनेछन्। युरोपेली इन्जिनियरिङसहितको स्कोडा, मलेसियाली ब्रान्ड प्रोटोन तथा चिनियाँ चेरी, ओमोडा, जेकु र जीडब्ल्यूएमलगायतका ब्रान्ड सहभागी हुनेछन्।
जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधनका साथै अन्य अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति देखाउनेछन्।
विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई लक्षित गर्दै ‘मेड इन नेपाल र मेड फर नेपाल’ प्याभिलियनसमेत राखिएको छ।
गाडीभन्दा ठूलो बन्दै ‘गाडीपछिको’ उद्योग
नाडाका अनुसार अटोमोबाइल उद्योग अब सवारीसाधन आयात र बिक्रीमा मात्र सीमित छैन। सवारीसाधनसँग जोडिएको पार्ट्स, मर्मतसम्भार, वित्तीय सेवा, बीमा, चार्जिङ पूर्वाधार, डिजिटल प्रविधि र ग्यारेज उपकरणको बजार पनि विस्तार हुँदै गएको छ।
नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार अटो शोमा गाडी मात्र देखाउने अवधारणाबाट बाहिर निस्केर सवारीसाधनलाई वर्षौंसम्म सञ्चालनमा राख्ने पूरै उद्योगलाई देखाउन खोजिएको छ।
“अटो शो भन्नेबित्तिकै गाडीले भरिएको हल भन्ने लाग्छ। तर हाम्रो प्रदर्शनीको ठूलो हिस्सा त ती गाडी वर्षौंसम्म चलाइराख्ने उद्योगले ओगटेको छ। त्यो उद्योग पनि देखिनुपर्छ,” उनले भने।
पाँच दशकअघि नेपालको अटोमोबाइल क्षेत्रको प्रदर्शनी एउटा कोठामा सीमित हुने गरेको थियो। अहिले करिब तीन लाख वर्गफिटको प्रदर्शनी आवश्यक पर्नु सवारीसाधनको संख्या बढेको कारण मात्र नभई त्यससँग जोडिएको समग्र उद्योग विस्तार भएको संकेतसमेत हो।


