एम्बेसडर्स क्लब नेपालद्वारा युवा आविष्कारकहरूको सम्मान
काठमाडौं । एम्बेसडर्स क्लब नेपालले १८ अगस्टमा काठमाडौँमा “युवा आविष्कारकहरूको सम्मान” विषयक एक विशेष अभिनन्दन कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका प्रतिनिधिहरू, युवा आविष्कारकहरू, नेपाली र विदेशी विद्यार्थीहरू, कूटनीतिज्ञहरू र विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
उक्त कार्यक्रमले नेपालको विकासमा नवप्रवर्तन, प्रविधि, सिर्जनशीलता र युवा नेतृत्वको महत्त्वलाई प्रकाश पार्दै, नयाँ विचारहरूको खोजी गर्ने र वास्तविक–विश्वका चुनौतीहरूमा समाधान खोजी गर्ने युवाहरूलाई सम्मान गर्ने मञ्च प्रदान गरेको थियो ।
सहभागीहरूलाई स्वागत गर्दै एम्बेसडर्स क्लब नेपालकी अध्यक्ष राजदूत डा. शर्मिला पराजुली ढकालले यो कार्यक्रम युवा आविष्कारकहरूको सम्मानका लागि मात्र नभई उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा जोडिन, विचार आदानप्रदान गर्न र सहकार्य गर्न कूटनीतिले कसरी अवसरहरू सिर्जना गर्न सक्छ भन्ने देखाउन तयार पारिएको बताउनुभयो ।
उहाँले नेपालको नवप्रवर्तन इकोसिस्टममा पु¥याएको योगदान र युवाहरूका विचारलाई व्यावहारिक समाधानमा अनुदित गर्ने अवसर सिर्जना गरेकामा राष्ट्रिय आविष्कार केन्द्रको प्रशंसा गर्नुभयो ।
“उत्कृष्ट विचारहरू कुनै विशेष देश, उमेर वा पृष्ठभूमिका हुँदैनन् । जब युवाहरूले जोडिने, सहकार्य गर्ने र आविष्कार गर्ने अवसर पाउँछन्, तब उनीहरूले यस्ता समाधानहरू सिर्जना गर्न सक्छन् जसले यथार्थमा भिन्नता ल्याउँछ ।”
राजदूत डा. ढकालले कूटनीतिको भूमिका परम्परागत सरकार–देखि–सरकारको सम्बन्धभन्दा माथि उठ्दै विकसित भइरहेको पक्षमा जोड दिनुभयो। उहाँका अनुसार विद्यार्थी, अनुसन्धानकर्ता, आविष्कारक र उद्यमीहरू देश र समुदायहरूबीचको महत्त्वपूर्ण कडी बन्दै गइरहेका छन्।
उहाँले युवा आविष्कारकहरूलाई जिज्ञासु र क्रियाशील रहन प्रोत्साहित गर्दै भन्नुभयो :
“सानोबाट सुरु गर्न नडराउनुहोस् । हरेक महान् आविष्कार एउटा प्रश्न, अवलोकन वा साधारण विचारबाट सुरु हुन्छ । सिक्दै जानुहोस्, प्रयोग गर्दै जानुहोस् र सुधार गर्दै जानुहोस् ।”
उहाँले कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नेपालसँगको सम्बन्ध कायम राख्न प्रोत्साहित गर्नुभयो र उनीहरू भविष्यमा अनुसन्धानकर्ता, उद्यमी, लगानीकर्ता, आविष्कारक र अन्तर्राष्ट्रिय साझेदारका रूपमा फर्किने आशा व्यक्त गर्नुभयो।
युवा आविष्कारकको अनुभव
मस्कटस्थित द ब्रिटिश स्कुलमा कक्षा १२ का विद्यार्थी तथा उदीयमान कम्प्युटर इन्जिनियर कवीर गोयलले कार्यक्रम आयोजनाका निम्ति राजदूत डा. ढकाल र एम्बेसडर्स क्लब नेपाललाई धन्यवाद दिनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रमा रहँदाको आफ्नो अनुभव साझा गर्दै, उहाँले राष्ट्रिय आविष्कार केन्द्रमा भइरहेको नवप्रवर्तनात्मक कार्य र नेपालभर त्यसको व्यापक प्रभावबाट आफू विशेष रूपमा प्रभावित भएको बताउनुभयो । उहाँले भविष्यमा नेपाल फर्किने र सहयोगात्मक परियोजनाहरू विकास गर्ने आफ्नो इच्छा व्यक्त गर्नुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रद्वारा अवसरहरूबारे जानकारी
राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक सञ्जय झाले पनि कार्यक्रमलाई सम्बोधन गर्दै युवा आविष्कारक र विद्यार्थीहरूको सहभागिताको सराहना गर्नुभयो । उहाँले युवाहरूलाई सिक्न, व्यावहारिक अनुभव प्राप्त गर्न, इन्टर्नशिप गर्न र नवप्रवर्तनमा योगदान पु¥याउने अवसर प्रदान गर्नुको महत्त्वमा जोड दिनुभयो ।
आविष्कार केन्द्रका प्रतिनिधिहरूले त्यसपछि आफ्नो अनुभवहरूबारे जानकारी दिएका थिए र केन्द्रले कसरी व्यक्ति र संस्थाहरूलाई नवप्रवर्तनात्मक विचारहरू विकास गर्न, अनुसन्धान गर्न र अवधारणाहरूलाई व्यावहारिक समाधानमा रूपान्तरण गर्न सहयोग गर्छ भन्ने जानकारी दिएका थिए ।
सहभागीहरूले जटिल अवधारणाहरूलाई विद्यार्थीहरूका लागि बुझ्न सजिलो बनाउने उपकरण र प्रदर्शनीहरू विकास गरेर, विशेष गरी शैक्षिक ज्ञान र व्यावहारिक प्रयोगबीचको खाडललाई कसरी कम गर्न सकिन्छ भन्नेबारे पनि छलफल गरेका थिए ।
एम्बेसडर्स क्लब नेपालद्वारा नवप्रवर्तनप्रतिको प्रतिबद्धता
यस कार्यक्रमले युवाहरूलाई सहयोग गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र कूटनीतिद्वारा अन्तर्राष्ट्रिय संलग्नतालाई बलियो बनाउने एम्बेसडर्स क्लब नेपालको प्रतिबद्धतालाई उजागर गरेको छ ।
क्लबले नेपालको भावी विकास र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता प्रविधि, सिर्जनशीलता, उद्यमशीलता र नवप्रवर्तनलाई पोषण गर्ने क्षमतामा निर्भर हुने मान्यता राख्छ ।
कूटनीतिक समुदाय, युवा आविष्कारक, विद्यार्थी र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थाहरूलाई एकै ठाउँमा ल्याएर क्लबले ज्ञान आदानप्रदान, मेन्टरशिप, अन्तर्राष्ट्रिय एक्सपोजर र सहकार्यका लागि ठूला अवसरहरू सिर्जना गर्न मद्दत गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमको समापन नेटवर्किङ र रात्रिभोजसँगै भएको थियो, जसले सहभागीहरूलाई विचार आदानप्रदान गर्ने र नयाँ सम्बन्धहरू स्थापना गर्ने अवसर प्रदान गरेको थियो ।
एम्बेसडर्स क्लब नेपालले युवा आविष्कारकहरूलाई सहयोग गर्नु नेपालको भविष्यका निम्ति गरिएको लगानी हो र नवप्रवर्तनले नेपाललाई विश्वसँग जोड्ने एक शक्तिशाली कडी बन्न सक्छ भन्ने पक्षलाई पुनः पुष्टि गरेको छ ।


