नाडा अटो शो स्वदेशी औद्योगिक क्षमताको समेत प्रतिबिम्ब: अध्यक्ष उप्रेती
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्र उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्र अब आयातमा मात्र निर्भर नरहेको बताएका छन्। नाडा अटो शो २०२६ को अवसरमा काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमै सवारीसाधन एसेम्बल हुनुका साथै अटोमोबाइलसँग सम्बन्धित विभिन्न सामग्री उत्पादन हुन थालेकाले भविष्यमा नेपालमै अटोमोबाइल उत्पादनको सम्भावना बढ्दै गएको बताए।
नाडाको १८औँ नाडा अटो शोमा नेपालमा उत्पादन तथा एसेम्बल भएका सवारीसाधनसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स र हेल्मेटलगायत अटो कम्पोनेन्टलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने उप्रेतीले बताए।
उनले नाडा अटो शो अन्तर्राष्ट्रिय ब्रान्ड र नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलो मात्र नभई नेपालमा विकास हुँदै गएको स्वदेशी औद्योगिक क्षमताको समेत प्रतिबिम्ब बन्ने बताए।
‘नाडा अटो शो केवल अन्तर्राष्ट्रिय ब्रान्डहरूको जमघट होइन, नेपालमा आफ्नै औद्योगिक सम्भावनाको जीवन्त ऐना पनि हो,’ उप्रेतीले भने, ‘नेपालमै उत्पादन भएका यात्री, एसेम्बल भएका स्कुटर तथा बाइक, टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स र हेल्मेटलगायतका सामग्रीलाई गर्वका साथ प्रस्तुत गर्नेछौँ।’
नेपालको अटोमोबाइल क्षेत्र क्रमशः आत्मनिर्भरताको दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले अहिले भइरहेको उत्पादन र एसेम्बलिङले भविष्यमा स्वदेशमै अटोमोबाइल उत्पादनको आधार तयार गर्न सक्ने बताए।
‘नेपाल अब आयात मात्र नभएर भोलिका दिनमा नेपालमै अटोमोबाइलको उत्पादन पनि सम्भव भएको जानकारी गराउन र देखाउन हामी प्रतिबद्ध छौँ,’ उनले भने।
उप्रेतीले नाडा अटो शोले पछिल्लो समय सुस्त बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी)को आधुनिक प्रविधि, दिगो गतिशीलता तथा विश्वस्तरीय नयाँ उत्पादनलाई एउटै छानामुनि प्रस्तुत गरिने उनले बताए।
उनका अनुसार अटो शोले उपभोक्तामा उत्साह बढाउनुका साथै बजारमा गतिविधि बढाउन र समग्र अर्थतन्त्रलाई चलायमान बनाउनसमेत योगदान गर्ने अपेक्षा गरिएको छ।
नाडाले विगत ५० वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रको विकास, विस्तार र नीतिगत सुधारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उप्रेतीले बताए। नाडाको ५० वर्षे यात्रालाई नेपालको आर्थिक तथा औद्योगिक विकाससँग जोडिएको महत्त्वपूर्ण इतिहासका रूपमा उल्लेख गर्दै उनले गोल्डेन जुब्लीका अवसरमा आयोजना हुन लागेको १८औँ नाडा अटो शो समग्र निजी क्षेत्र र अटोमोबाइल उद्योगका लागि समेत ऐतिहासिक अवसर हुने बताए।

