नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन
काठमाडौं । नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका छन्। बैंकको साउन २७ गते बसेको संचालक समितिको बैठकले भारतीय स्टेट बैंक (एस.बी.आई.) लाई प्रतिनिधित्व गरी आएका उनलाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको हो।
नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्ष मुनीष कुमार चान्दनालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन्।
अध्यक्ष मुनीष कुमार चान्दना, एस.बी.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूह–२ मा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले हाल एस.बी.आई.को पूर्वी तथा दक्षिण एसिया, सिंगापुर, अष्टे«लियाको अन्तर्राष्ट्रिय बैंकिङ्ग संचालन र विश्वभर रहेका प्रमुख विदेशी सहायक बैंकहरुको लागी रणनीतिक नेतृत्व प्रदान गर्छन।

