दशैं–तिहार लक्षित ‘सुजुकी पर्वोत्सव’, नगद छुटदेखि एक वर्षको निःशुल्क बीमासम्म
काठमाडौं । सुजुकीको नेपालका लागि अधिकृत वितरक सिजी मोटोकर्पले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ नामक चाडपर्व विशेष योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले गाडी खरिदमा नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क बीमालगायत विभिन्न सुविधा पाउने भएका छन्।
कम्पनीका अनुसार ‘सुजुकी पर्वोत्सव’अन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट र एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। यसबाहेक निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस अर्थात् आवधिक मर्मत सेवाका पार्ट्स र एक वर्षको निःशुल्क बीमाको सुविधा पनि उपलब्ध हुनेछ।
यी सुविधा गाडीको मोडलअनुसार फरक हुने कम्पनीले जनाएको छ। योजना साउन २७ देखि कात्तिक अन्तिमसम्म लागू हुनेछ।
चाडपर्व योजना सुजुकीका प्यासेन्जर कार, एसयूभी तथा लाइट कमर्सियल भेइकलमा लागू हुनेछ। कम्पनीका अनुसार अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारालगायत मोडल योजनामा समेटिएका छन्।
ई–भिटारामा छुट्टै अफर पनि
सुजुकीले यसअघि सञ्चालनमा ल्याएको ‘ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना’ भने छुट्टै अफरका रूपमा निरन्तर रहने जनाएको छ। पहिलो १०० युनिट बिक्री पूरा भएपछि ई–भिटारामा पनि मोडलअनुसार ‘सुजुकी पर्वोत्सव’का सुविधा लागू हुनेछन्।
ई–भिटारा खरिद गर्ने ग्राहकले गाडीसँग उपलब्ध हुने तीन किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त सात किलोवाट क्षमताको होम चार्जरसमेत निःशुल्क पाउनेछन्। सात किलोवाटको चार्जर उपलब्ध गराउने सुविधा भने ग्राहकको घरमा चार्जर जडानको सम्भाव्यतामा निर्भर रहने कम्पनीले स्पष्ट पारेको छ।
सिजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले चाडपर्वका बेला ग्राहकलाई थप मूल्य र पारदर्शी सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बताए। उनले ग्राहकलाई नजिकको सुजुकी शोरूम तथा अगस्ट २५ देखि ३० सम्म आयोजना हुने नाडा अटो शोमा पुगेर मोडलअनुसार उपलब्ध सुविधाबारे जानकारी लिन आग्रह गरेका छन्।
कम्पनीका अनुसार भेरियन्टअनुसार योजनाको योग्यता र सुविधा फरक हुनसक्ने भएकाले ग्राहकले खरिदअघि सम्बन्धित शोरूमबाट विस्तृत जानकारी लिन सक्नेछन्।
सुजुकी नेपालले हाल देशभरका ४२ अधिकृत आउटलेटमार्फत प्यासेन्जर कार, एसयूभी तथा लाइट कमर्सियल गाडीको बिक्री तथा सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।


