‘चिसो चिसो पानी’ र ‘दिन्न ’पछि निर्वाण–कुशको ‘लाली’
काठमाडौं । नेपाली हिपहप तथा र्याप संगीतका कलाकार एनभी निर्वाण र कुश नयाँ गीत ‘लाली’मार्फत फेरि दर्शक–श्रोतामाझ आएका छन् । ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शकसामु ल्याइएको हो।
निर्वाण र कुश यसअघि पनि सहकार्यबाट चर्चामा आएका कलाकार हुन् । उनीहरूको ‘चिसो चिसो पानी’ नेपाली संगीतमा ठूलो हिट बनेको थियो । त्यसपछि उनीहरूले केही महिनाअघि ‘दिन्न’ बोलको गीत पनि सार्वजनिक गरेका थिए ।
हिपहप, र्याप र डान्सको संयोजन गरिएको ‘लाली’मा आकर्षक बीट, क्याची हुक, बोल्ड भिजुअल र ऊर्जावान नृत्यलाई प्राथमिकता दिइएको छ । गीतमा एनभी निर्वाण र कुशसँगै स्वरमा सेरेनले साथ दिएकी छन् भने भिडियोमा इभा गिरी फिचर्ड छिन्।
गीतमा एनभी निर्वाण र कुशकै स्वर, संगीत तथा शब्द रहेको छ । Lay Zy ले म्युजिक प्रोडक्सन गरेका छन् भने गीत ‘निर्वाण रेकर्ड्स टोरोन्टो’ मा तयार गरिएको हो ।
‘लाली’मा प्रेम, आकर्षण, पार्टी र हिपहप लाइफस्टाइललाई प्रस्तुत गरिएको छ । गीतको कोरसमा प्रेम र आकर्षणको भाव सुनिन्छ भने निर्वाणको मेलोडिक शैली र कुशको र्यापले गीतलाई फरक ऊर्जा दिएको छ ।
गीतको भिडियो निर्देशन हरि हुमागाईंले गरेका छन् । भिडियोको छायांकन (डीओपी) र भिजुअल सम्पादन स्वयम् निर्देशक हुमागाईंले गरेका हुन् भने उत्तम हुमागाईंको सिनेमाटोग्राफी छ। प्रबिन मानन्धरले भिडियोको कलरिङ र सम्पादन सम्हालेका छन्।
निर्माण पक्षले ‘लाली’लाई विशेषगरी हिपहप, र्याप, डान्स तथा नयाँ पुस्ताको संगीत संस्कृति मन पराउने दर्शकलाई लक्षित गरेर तयार गरिएको जनाएको छ । गीतमा पार्टी र डान्स फ्लोरसँगै सामाजिक सञ्जालका रिल्स तथा छोटा भिडियोमा समेत प्रयोग गर्न सकिने किसिमको क्याची हुक र बीट राखिएको छ ।

