वाणिज्य बैंकहरुले सार्वजनिक गरे भदौको ब्याजदर, कुन बैंकको कति ?
काठमाडाैं । देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेका कारण साउनको तुलनामा भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ।
भदौ महिनाका लागि बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतविन्दुमा झरेको छ । साउनको बैंकहरुको औषत ब्याजदर ४.१६७५ प्रतिशतविन्दु थियो । यस्तै संस्थागत निक्षेपको औसत दर पनि ३.११६ प्रतिशतविन्दुबाट घटेर ३.०८१ प्रतिशतविन्दुमा सीमित बनेको छ ।
भदौ महिनाका लागि कुल ५ वटा बैंकहरूले ब्याजदर घटाएका छन्। १५ बैंकको ब्याजदर स्थिर रहेकाे छ । ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंक रहेका छन् ।
सिद्धार्थ बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.२९ प्रतिशतविन्दुमा ब्याजदर घटाएर ३.७६ प्रतिशत कायम गरेकाे छ । त्यस्तै, बैंकले संस्थागततर्फ ०.२ प्रतिशतविन्दुले ब्याजदर कटौती गरी ३.०५ प्रतिशत कायम गरेको छ।
यस्तै नेपाल बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतविन्दु ब्याजदर घटाएर ४.१५ प्रतिशत कायम गरेकाे छ । त्यस्तै, बैंकले संस्थागतमा ०.५ प्रतिशतविन्दु ब्याजदर घटाएर ३.५ प्रशित कायम गरेको छ।
सिटिजन्स बैंकले व्यक्तिगतमा ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएका छन्।
त्यस्तै, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एशिया बैंकले ब्याजदर यथावत् राखेका छन् ।


