आर्थिक गतिविधि चलायमान बनाउन पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन आवश्यक: सीएनआई अध्यक्ष
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्र पूर्ण रूपमा लयमा फर्किन नसकेको अवस्थामा बजार माग बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।
सीएनआईको ‘बजेट वाच’ कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा रहे पनि बजारमा समग्र माग अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए । बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य स्रोत उपलब्ध हुनु र ब्याजदर एकल अंकमा झर्नु सकारात्मक भए पनि आर्थिक गतिविधि विस्तारका लागि सरकारी खर्च प्रभावकारी रूपमा परिचालन हुनुपर्ने उनको भनाइ छ ।
सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको उल्लेख गर्दै पाण्डेले उक्त लक्ष्य हासिल गर्न पूर्वाधार आयोजना समयमै सम्पन्न गर्नुपर्ने, सार्वजनिक खर्चको गुणस्तर सुधार गर्नुपर्ने तथा निजी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताए ।
उनले मन्त्रालयगत निर्णय प्रक्रिया छिटो र प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए । ‘बजेटमा घोषणा गरिएका नीति तथा कार्यक्रमभन्दा तिनको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रका लागि महत्वपूर्ण हुन्छ,’ उनले भने ।
पाण्डेले विगतमा उत्कृष्ट नीति तथा कार्यक्रम घोषणा भए पनि कमजोर कार्यान्वयनका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताए । अब नीति, योजना र कार्यक्रमलाई परिणाममुखी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले यस वर्षको बजेटमार्फत निजी लगानी प्रोत्साहन, औद्योगिक तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता, पूर्वाधार विकास र सार्वजनिक–निजी साझेदारीलाई महत्व दिएको भन्दै उनले यी घोषणा सकारात्मक रहेको बताए ।
सीएनआईले आर्थिक वर्ष २०७९/८० देखि निरन्तर ‘सीएनआई बजेट वाच’ कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै पाण्डेले यस वर्ष निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित ७० वटा बुँदा पहिचान गरी कार्यान्वयनका लागि आवश्यक कदम, सम्बन्धित निकायको भूमिका तथा कानुनी र नीतिगत सुधार समेटिएको विस्तृत दस्तावेज तयार गरिएको बताए ।
ती बुँदालाई सातवटा क्षेत्रगत विषयमा वर्गीकरण गरी आगामी महिनाहरूमा सम्बन्धित मन्त्रालय, विभागीय प्रमुख तथा विज्ञहरूसँग छुट्टाछुट्टै संवाद गरिने उनले जानकारी दिए ।
अध्यक्ष पाण्डेले बजेट कार्यान्वयनका क्रममा देखिने समस्या समाधानका लागि सरकारसँग नजिकबाट सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताए । विशेषगरी मन्त्रालयका सचिव, सहसचिव तथा विभागीय प्रमुखसँग नियमित र सघन संवाद आवश्यक रहेको उनले उल्लेख गरे ।
यसैबीच, सीएनआईले ‘१०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र’ निर्माणको सम्भावनाबारे विस्तृत अध्ययन सम्पन्न गरेको पनि पाण्डेले जानकारी दिए । उत्पादन, ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, निर्यात तथा मानव पुँजीका क्षेत्रमा तीव्र सुधार र लक्षित लगानीमार्फत नेपालले अपेक्षाभन्दा छिटो आर्थिक रूपान्तरण गर्न सक्ने अध्ययनले देखाएको उनले बताए । उक्त अध्ययन प्रतिवेदन छिट्टै सार्वजनिक गरिने उनले जानकारी दिए ।
पाण्डेले ‘बजेट वाच’ लाई औपचारिक कार्यक्रमभन्दा पनि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्यको माध्यमका रूपमा अघि बढाउने बताए । बजेटको प्रभावकारी कार्यान्वयनमार्फत उत्पादन वृद्धि, आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनामा योगदान पुर्याउने सीएनआईको लक्ष्य रहेको उनको भनाइ छ ।


