नेपाली अटो मेकानिकले गरे चीनको एसआरएम कारखानामा ईभी प्रविधिको प्रत्यक्ष अवलोकन
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढ्दै जाँदा दक्ष प्राविधिक जनशक्ति विकासमा जोड दिन थालिएको छ । यसै क्रममा नेपाल अटो मेकानिक व्यवसाय महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित साइनेरी मोटर्स एसआरएम को उत्पादन कारखानाको अवलोकन गरेका छन् ।
नेपालमा एसआरएम तथा जोयलङका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक भिजी मोटर्सको पहल तथा एसआरएम को सहयोगमा महासंघका प्रतिनिधिले साउन २६ र २७ गते फुलिङ, चोङछिङस्थित एसआरएम को कारखाना भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा नेपाली प्राविधिकहरूले सवारीसाधन उत्पादन तथा एसेम्बली प्रक्रिया, गुणस्तर नियन्त्रण प्रणाली, परीक्षण प्रक्रिया र विद्युतीय सवारीसाधनमा प्रयोग हुने प्रविधिबारे प्रत्यक्ष जानकारी लिएका थिए । उनीहरूले एसआरएम का प्राविधिक विशेषज्ञसँग अन्तरक्रिया गर्दै ईभी उत्पादन तथा मर्मतसम्भारसँग सम्बन्धित विषयमा जानकारीसमेत आदानप्रदान गरेका थिए ।
भ्रमणले नेपाली अटो मेकानिकलाई सामान्य वर्कसपमा प्राप्त हुने व्यावहारिक ज्ञानभन्दा बाहिर गएर विद्युतीय सवारीसाधनको उत्पादन, इन्जिनियरिङ, परीक्षण र गुणस्तर नियन्त्रण प्रक्रियालाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर दिएको भिजी मोटर्सले जनाएको छ ।
नेपालमा व्यावसायिक विद्युतीय सवारीसाधनको बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको भिजी मोटर्सले सवारीसाधन बिक्रीसँगै प्राविधिक जनशक्ति विकासमा समेत काम गर्दै आएको जनाएको छ । कम्पनीले देशका विभिन्न स्थानमा मेकानिक मिट आयोजना गर्नुका साथै ईभीसम्बन्धी प्राविधिक प्रशिक्षण तथा साइटमै पुगेर प्राविधिक समस्या समाधान गर्दै आएको छ ।
भिजी मोटर्सका अनुसार ईभीसम्बन्धी प्राविधिक प्रशिक्षणको पहिलो चरण पूरा भइसकेको छ । अब दोस्रो चरणको प्रशिक्षण अघि बढाउने तयारी भइरहेको छ । दोस्रो चरणमा ईभी मर्मतसम्भारका लागि आवश्यक उपकरणको पहिचान तथा प्रयोगदेखि सवारीसाधनको प्राविधिक मर्मतसम्मका विषय समेटिने बताइएको छ ।
यसअघि कम्पनीले नेपाल अटो मेकानिक महासंघका सदस्यहरूलाई लक्षित गरी ईभीको डायग्नोसिस, सर्भिसिङ तथा मर्मतसम्बन्धी व्यावहारिक प्रशिक्षण सञ्चालन गरेको थियो । चीनको कारखाना भ्रमणले उक्त व्यावहारिक ज्ञानलाई ईभी उत्पादन र प्रविधिको वास्तविक प्रक्रियासँग जोड्ने अवसर दिएको कम्पनीको भनाइ छ ।
एसआरएम तथा भिजी मोटर्सको प्रायोजनमा भएको भ्रमणमा सहभागी प्रतिनिधिहरूको यात्रा तथा आतिथ्य व्यवस्थासमेत गरिएको थियो । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा अटोमोबाइल क्षेत्रका प्राविधिकको भूमिका पनि परिवर्तन हुँदै गएको छ ।
परम्परागत मेकानिकल प्रणालीसँगै ईभीमा विद्युतीय प्रणाली, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक कम्पोनेन्ट, डायग्नोस्टिक्स, सुरक्षा प्रणाली तथा सफ्टवेयरसम्बन्धी ज्ञान आवश्यक हुने भएकाले प्राविधिकको क्षमता अभिवृद्धि महत्वपूर्ण बन्दै गएको छ ।
भिजी मोटर्सका कमर्सियल हेड सजल श्रेष्ठले नयाँ प्रविधि भित्र्याउनु मात्र पर्याप्त नभई त्यसलाई सञ्चालन र मर्मत गर्ने दक्ष जनशक्ति विकास गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए ।
‘मोबिलिटीको भविष्य नयाँ प्रविधि भित्र्याउने विषयमा मात्र सीमित छैन । त्यस प्रविधिलाई सहयोग गर्ने जनशक्ति विकास गर्नु पनि आवश्यक छ । प्राविधिकहरू ईभी इकोसिस्टमको महत्वपूर्ण हिस्सा हुन् । उनीहरूलाई उचित प्रशिक्षण र प्रत्यक्ष अनुभव उपलब्ध गराउँदा ग्राहकको विश्वास बढाउन, बिक्रीपछिको सेवा सुधार गर्न र नेपालको अटोमोबाइल जनशक्तिलाई भविष्यका लागि तयार गर्न सहयोग पुग्छ,’ उनले भने ।
नेपालमा ईभीको प्रयोग र बजार विस्तार हुँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता अझ बढ्ने देखिन्छ । सही डायग्नोसिस, गुणस्तरीय मर्मतसम्भार र प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध गराउन सक्षम प्राविधिक विकासले विद्युतीय सवारीसाधनप्रतिको उपभोक्ता विश्वाससमेत बलियो बनाउन सक्ने व्यवसायीहरूको भनाइ छ ।
भिजी मोटर्सले एसआरएम, नेपाल अटो मेकानिक व्यवसाय महासंघ तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै नेपालको अटोमोबाइल क्षेत्रलाई थप दक्ष, सक्षम र भविष्यका लागि तयार बनाउन योगदान गर्ने जनाएको छ । कम्पनीका अनुसार प्रविधिको विकाससँगै त्यसलाई सञ्चालन गर्ने मानव संसाधनको क्षमता विकासलाई समान प्राथमिकता दिनु आवश्यक छ ।


