कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु
काठमाडौं । कोलम्बियामा शक्तिशाली भूकम्प जाँदा १११ जनाको मृत्यु भएको छ ।
कोलम्बियाको भूगर्भीय सेवाका अनुसार सोमबार बिहान ७:३४ बजे (स्थानीय समय) मा चोको प्रान्त केन्द्रविन्दु रहेको ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रमा महसुस गरिएको थियो ।
भूकम्पपछि सरकारले राष्ट्रिय विपद्को अवस्था घोषणा गर्दै उद्धार तथा राहतका लागि विशेष अधिकार प्रयोगमा ल्याएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भग्नावशेषमा थप मानिसहरू पुरिएको आशंका गरिएको छ ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये कफी उत्पादनका लागि प्रसिद्ध पेरेइरा शहर पनि परेको छ । पेरेइराको महानगरीय क्षेत्रमा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । त्यहाँ ६५ वटा भवन भत्किएका छन् भने १५ वटा भवनमा मानिसहरू फसेको आशंका गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु चोको प्रान्तको सान होसे डेल पालमार गाउँनजिकै भए पनि गाउँका मेयर लेओन फाबियो मारिन मोनकाडाका अनुसार त्यहाँ मानवीय क्षति भने भएको छैन । भूकम्पका कारण गाउँतर्फ जाने र आउने सडकमा भने क्षति पुगेको छ ।
केन्द्रविन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरेइरा शहरमा ठूलो भौतिक क्षति भएको छ । सार्वजनिक रूपमा उपलब्ध भिडियोमा शहरको मुख्य चोक प्लाजा बोलिभारमा एउटा भवन भत्किएको र चारैतिर भग्नावशेष तथा धुलो फैलिएको देखिएको बीबीसीले जनाएको छ ।


