भोलिदेखि नागढुङ्गा सुरुङमार्ग खुल्दै, तर मोटरसाइकललाई भने ‘नो इन्ट्री’!
काठमाडौँ । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ औपचारिक रूपमा उद्घाटन भई सञ्चालनमा आउने भएको छ। पूर्वाधार विकासको क्षेत्रमा ठूलो कोसेढुङ्गा मानिएको यो सुरुङमार्ग चौबीसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ।
पहिलो दिन एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्कालीन सवारीसाधनलाई मात्र अनुमति दिइनेछ। सम्भावित विपद् र दुर्घटनाको पूर्वतयारीस्वरूप ‘नक ड्रिल’ (नमुना अभ्यास) गरेपछि चरणबद्ध रूपमा अन्य सवारीसाधनका लागि सुरुङमार्ग पूर्ण रूपमा खुला गरिनेछ।
युसिन–एआरटी (Yusin-ART) कम्पनीले ५ वर्षका लागि सुरुङको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पाएको छ। चौबीसै घण्टा निगरानी र यातायात व्यवस्थापनका लागि करिब १५० जना जनशक्ति खटाइनेछ।
१. कुन-कुन सवारीलाई ‘नो इन्ट्री’?
सुरक्षा मापदण्ड (Nagdhunga Tunnel Traffic Operation Directive) अनुसार देहायका सवारी तथा यात्रुलाई सुरुङ प्रवेशमा पूर्ण रोक लगाइएको छ:
दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी: मोटरसाइकल, स्कुटर, अटो रिक्सा, र अन्य नन-मोटोराइज्ड सवारी।
पैदलयात्री: सुरुङभित्र पैदल यात्रा गर्न पाइने छैन।
प्रज्वलनशील पदार्थ बोक्ने गाडी: पेट्रोल, डिजेल, एलपीजी ग्यास तथा अन्य विस्फोटक वा अत्यधिक प्रज्वलनशील पदार्थ ओसार्ने ट्याङ्कर/ट्रक।
(यस्ता सवारीले पहिलेकै त्रिभुवन राजपथ/नागढुङ्गाको पुरानाे घुमाउरो बाटो प्रयोग गर्नुपर्नेछ)।
सुरुङमार्ग प्रयोग गरेबापत सडक बोर्ड नेपालले सवारीको वर्गीकरण अनुसार शुल्क निर्धारण गरेको छ:
कार/भ्यान: रु ६० – ६५
मिनीबस/टिपर: रु ८० – ११५
बस/ट्रक: रु २०० – २६०
हेभी/मल्टी-एक्सल ट्रक: रु २५० – ६००
भुक्तानी प्रणाली:
नगद बाहेक आरएफआईडी प्रविधिमा आधारित ‘एन-ट्याग’ (N-Tag) स्टिकर र क्यूआर (QR) कोडमार्फत पनि डिजिटल भुक्तानी गर्न सकिने सुविधा छ। एन-ट्याग तोकिएका वाणिज्य बैंकहरूबाट प्राप्त गर्न सकिनेछ।
सुरुङको मुख्य विशेषता:
मुख्य सुरुङको लम्बाइ २,६८८ मिटर (२.६८ किमी) रहेको छ भने आपत्कालीन उद्धारका लागि २,५५७ मिटरको छुट्टै निकास मार्ग (Evacuation Tunnel) पनि बनाइएको छ। यो सुरुङमार्ग पूर्ण रूपमा प्रयोगमा आएसँगै नागढुङ्गाको घण्टौँ लामो ट्राफिक जाम हट्ने र यात्रा अवधि करिब ७ मिनेटमा झर्ने अपेक्षा छ।


