हराएको वा बिग्रेको सिमकार्डका लागि अनलाइन फारम भर्न सकिने
काठमाडौं । नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ । नेपाल टेलिकमले आज (२०८३ साउन १) देखि यो सेवाको शुभारम्भ गरेको छ ।
सम्पूर्ण विवरण भरिसके पश्चात ग्राहक स्वयं काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सकिन्छ । यसका लागि आवश्यक रु. ५० काउन्टरमै तिर्ने र आफू उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत फारममै उल्लेख गर्नु पर्नेछ । प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ । ग्राहकको गोपनियता र आवश्यक सुरक्षाका लागि यी सबै व्यवस्था गरिएको हो ।


