सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ: उपाध्यक्ष भट्ट
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताउनुभएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष भट्टले सुस्तायको आर्थिक अवस्थालाई चलायमान बनाउँदै सरकारले अगाडि सारेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने योजनाका साथ काम गरिरहेको बतउनुभएको हो ।
उहाँले वर्तमान सरकार निजी क्षेत्र र सहकारी क्षेत्रलाई पनि संगसंगै लिएर आर्थिक सवलिकणका कार्यक्रमलाई बढाव दिँदै जाने कुरामा सकारात्मक रहेको बताउनुभयो ।
उपाध्यक्ष भट्टले नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्था एक अग्रणी संस्था भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले साना किसानको काम र यसको प्रभावलाई हेरेर अव साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत संस्थाका रुपमा विकास गर्न आवश्यक रहेको प्रतिक्रिया दिनुभयो । वास्तविक किसानकोबीचमा पुगेर काम गर्ने र त्यो पनि सफल र सकारात्मक रुपान्तरणका लागि काम गर्ने संस्था साना किसान भएको भन्दै यसलाई विशिष्टीकृत संस्थाका रुपमा विकास गर्न सके यसको प्रभाव अझै बढाउँदै लैजान सकिने उहाँको तर्क थियो ।
देशको समग्र आर्थिक अवस्था सुधारमा साना किसानहरुको भूमिका महत्वपूर्ण रहने भन्दै यसतर्फ सरकारले विशेष प्रकारका कार्यक्रम अगाडि बढाउने बताउनुभयो । साना किसानहरुको उत्थानबाट मात्रै देशमा गरिबी निवारण सहित आर्थिक सामाजिक रुपान्तण गर्न सकिने विषयमा वर्तमान सरकार स्पष्ट रहेको भन्दै साना किसानहरुलाई ढुक्कसंग काम गर्न अनुरोध गर्नुभयो । सरकारले सरकारी, निजी र सहकारी संस्थाहरुको सवलिकण मार्फत संस्थागत दिगो पनामा विशेष कार्यक्रम अगाडि बढाउने बताउनुभयो ।
ठूला परियोजना निर्माणसंगै साना उद्यमीहरुले पनि अवसर पाउने भन्दै उहाँले ठूला परियोजना र पूर्वाधार विकासमा जोड दिँदै साना उद्यमीहरुलाइ पनि संगसंगै अगाडि बढाउने बताउनुभयो ।
समावेशी सहभागीतामा जोड दिँदै सरकारले अगाडि बढाएको कार्यक्रममा साना किसानको समुह निर्माण र सहभागिताले यसलाइ प्रमाणित गरिसकेको भन्दै साना किसान कार्यक्रम र यसको प्रभावलाई निरन्तर बढाउँदै लैजानुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले सरकारले अगाडि बढाएका हरेक काम र कार्यक्रममा साना किसान अभियान सदैव संगसंगै अगाडि बढेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सरकारले अगाडि बढाएको आर्थिक सामाजिक रुपान्तरणका कार्यक्रम कार्यन्वयनमा साना किसान अभियान र यसमा आवद्ध संस्था एवम् सदस्यहरुले प्रतिवद्ध भएर काम गर्ने बताउनुभयो ।
सरकारले साना किसान कार्यक्रमलाई दिएको साथ सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष पाठकले आगामी दिनमा किसानको उत्पादनलाई बजारसंग जोड्ने कार्यक्रममा साथ दिन अनुरोध गर्नुभयो । किसानले उत्पादन मात्र गरेर आर्थिक सम्पन्नता हासिल नुहुने भन्दै किसानको आफ्नै बजारका लागि सकारकाले विशेष रुपमा सोच्नुपर्ने उहाँको माग थियो । उहाँले आफुहरुले किसानको उत्पादन विक्रिवितरणका लागि बजारको माग गरेपनि सरकारले यस बारेमा अन्तिम निर्णय लिन नसक्दा अहिलेसम्म किसानहरुले आफ्नो उत्पादन आफै विक्रिवितरण गर्न नपाएको गुनासो गर्नुभयो ।
यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले संस्थाको आर्थिक तथा व्यवसायीक प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले दिगो विकास लक्ष्य हासील गर्न कृषिमा महिला, युवा, दलित, जनजाती, राउटे, बनकरी, पछाडी परेको समुदायलाई कृषि उत्पादन मार्फत मूलधारमा जोड्ने कार्य गरेको बताउनुभयो ।
विश्व अर्थतन्त्रमा परेको प्रभावका चुनौतिहरु नेपालको अर्थतन्त्र एवम् वैँक तथा वित्तीय संस्थामा समेत परेको भन्दै यसबाट माथी उठ्न साना तथा लधु उधमको प्रवद्र्धन महत्वपूर्ण रहने बताउनुभयो ।
उहाँले साना किसान विकास लघुवित्त वित्तीय संस्थाले निरन्तर रुपमा ग्रामीण अर्थतन्त्र चलायमान बनाउँदै समग्र आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकालाई अझै प्रभावकारी रुपमा अगाडि बढाउन आफुहरु निरन्तर लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा संस्थाका १२ वटा शाखा कार्यालय मध्ये उत्कृष्ट शाखा कार्यालयका रुपमा शाखा कार्यालय नेपालगञ्ज, राष्ट्रियस्तरमा सर्वोउत्कृष्ट संस्था साना किसान कृषि सहकारी संस्था खैरहनी चितवन, साझेदार लघुवित्ततर्फबाट डिप्रोक्स लघुवित्त तथा कृषि बाहेका साझेदार संस्थाबाट सिम्रिक बचत तथा ऋण सहकारी संस्था र काठमाण्डौ शाखा कार्यालयतर्फबाट अनैकोट काभ्रेपलाञ्चोकलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।


