डीआर कंगोद्वारा उज्बेकिस्तान पराजित, कोलम्बिया र पोर्चुगलबीच गोलरहित बराबरी
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह के अन्तर्गत आज भएका अन्तिम तथा निर्णायक खेलहरूमा निकै प्रतिस्पर्धात्मक नतिजाहरू बाहिर आएका छन्।
मायामी स्टेडियममा भएको बहुप्रतीक्षित खेलमा दुई बलिया टोली कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अर्कोतर्फ, एटलान्टा स्टेडियममा भएको खेलमा डीआर कंगोले उज्बेकिस्तानमाथि ३–१ को पुनरागमन जित हासिल गरेको छ।
यो नतिजासँगै ७ अंक जोड्दै कोलम्बिया समूह के को विजेता बनेको छ भने ५ अंकसहित पोर्चुगल उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन्।
यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेका कोलम्बिया र पोर्चुगल समूहको शीर्ष स्थानका लागि मैदान उत्रिएका थिए। दुवै टोलीले आक्रामक फुटबल खेले पनि गोलरक्षकहरूको उत्कृष्ट प्रदर्शनका कारण खेल गोलरहित टुङ्गियो। खेल सुरु हुनअघि टनेलमा दुवै टोलीका दिग्गज कप्तान क्रिस्टियानो रोनाल्डो र जेम्स रोड्रिगेजले एकअर्कालाई अँगालो हालेर स्वागत गरेका थिए। पहिलो हाफमा पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ फेलिक्सका प्रहारलाई कोलम्बियाका गोलरक्षक कमिलो भार्गासले उत्कृष्ट बचाउ गरे।
कोलम्बियाका जोन कोर्डोबाको उत्कृष्ट प्रहारलाई पोर्चुगलका डिओगो कोस्टाले असफल तुल्याइदिए। दोस्रो हाफमा दुवै टोलीले व्यापक खेलाडी परिवर्तन गरे पनि गोलको गतिरोध तोड्न सकेनन् र खेल बराबरीमा सकियो।
पहिलो दुई खेलमा अंकविहीन रहेको उज्बेकिस्तान र १ अंक मात्र जोडेको डीआर कंगोका लागि यो खेल गर या मरको अवस्थामा थियो। पहिलो हाफमा पछि परेको कंगोले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्यो। खेलको १०औँ मिनेटमा उज्बेकिस्तानका स्टार स्ट्राइकर एल्डोर शोमुरोदोभले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको कंगोका लागि ६८औँ मिनेटमा योआने विसाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेलको ७८औँ मिनेटमा मैदान प्रवेश गरेका सब्सिच्युट खेलाडी फिस्टन मायेलेले गोल गर्दै कंगोलाई २–१ को अग्रता दिलाए। खेलको अन्तिम समयमा योआने विसाले व्यक्तिगत दोस्रो गोल गर्दै डीआर कंगोको ३–१ को सानदार जित निश्चित गरे।
डीआर कंगो खेल जितेर ४ अंक र +१ गोल अन्तरसहित तेस्रो स्थानमा रहेकाले ‘सर्वोत्कृष्ट तेस्रो टोली’ को रूपमा नकआउट चरणमा पुग्ने बलियो सम्भावना कायम राखेको छ।


