रातोघर साहित्य उत्सव–२०८३ असार १२ गते हुने
काठमाडौँ । साहित्य, कला र संस्कृतिको क्षेत्रमा दुई दशकदेखि सक्रिय रातोघर फाउन्डेसनले ‘शब्द, सम्पदा र शहर’ विषय केन्द्रित रातोघर साहित्य उत्सव–२०८३ आयोजना गर्ने भएको छ।
फाउन्डेसनका अध्यक्ष स्नेह साय्मिका अनुसार उत्सव २०८३ असार १२ गते बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म नेपाल भाषा मंका खलःको सभाकक्ष, बिजेश्वरी, काठमाडौँमा सञ्चालन हुनेछ।
उत्सवमा २२ जना युवा तथा वरिष्ठ कविहरूद्वारा शहर, सम्पदा र संस्कृतिसम्बन्धी कविता वाचन, १५ जना विभिन्न मातृभाषी कविहरूको प्रस्तुति, पुस्तक विमोचन तथा विशेष बहस कार्यक्रमहरू आयोजना गरिनेछन्। कार्यक्रममा साहित्यकार रमेशकाजी स्थापितलाई ‘रातोघर च्वसाः सम्मान’ तथा डा. शङ्करमान राईलाई ‘रातोघर उत्कृष्ट सेवा सम्मान’ प्रदान गरिनेछ।
त्यसैगरी, प्रा. डा. सुदर्शनराज तिवारीसँग ‘यो शहर कस्तो ?’ विषयमा बहस तथा काठमाडौँ, ललितपुर र भक्तपुरका उपप्रमुखहरूबीच ‘स्वनिगः याम्बु र सम्पदाको शहर’ विषयक छलफल पनि हुने आयोजकले जनाएको छ।


