सिटिजन्स बैंकको ८ औं विशेष साधारण सभा सम्पन्न, २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज बैंकको मुख्य कार्यालय , नारायणहिटी पथ, काठमाडौंमा सम्पन्न भएको छ ।
८ औं विशेष साधारण सभाबाट बैंकको नियमावली अनुसार समुह क संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै अनिल कुमार ज्ञवाली गरी १ जना र समुह ख सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित, हिमादेवी खड्का के.सी. ३ जना गरी जम्मा ४ जना सञ्चालकहरु निर्वाचित भएका छन् । यसैगरी, प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न रु. २ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राजिकार शेयर (Perpetual Non-Cumulative Preference Share)जारी समेत गर्ने निर्णय विशेष साधारण सभाले पारित गरेको छ ।
८ औं विशेष साधारण सभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरु आ–आफ्नो क्षेत्रमा सफल एवं विज्ञ व्यक्तिहरु रहेका छन् । प्रकाशचन्द्र मैनाली देशकै ख्यातिप्राप्त एक संयुक्त लगानीको बाणिज्य बैंकमा करिव ९ वर्ष भन्दा बढी कार्यानुभवका साथै सेवामुलक उद्योग लगायत कुखुरा एवं पंछीजन्य उद्योगमा लामो समयदेखि आवद्द छन् ।
बैंकका अर्का सञ्चालक अनिल कुमार ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।
अर्का सञ्चालक समितिका सदस्य डा. राजेन्द्र पण्डित, २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन् । अर्थशास्त्रमाMSc/MA को अध्ययन र विगत दुई दशकमाथि विश्लेषणात्मक र नीतिविश्लेषणका क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेका छन् ।
डा. राजेन्द्र पण्डितले विभिन्न पुरस्कार र सम्मान समेत प्राप्त गर्नुभएको छ, जसमध्ये २०१७मा प्रबल जनसेवाश्री, २०२४ मालौरा बासी स्कॉलरशिप र २०२३–२४ मा Graduate School Dissertation Assistantship प्रमुख छन् । सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित भएका सञ्चालक समितिका सदस्य श्रीमती हीमादेवी खड्का केसी, विभिन्न अन्तर्राष्ट्रिय विकास संस्थाहरू जस्तै UNDP, ILO, GIZ, Oxfam GB लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा वरिष्ठ नेतृत्व एवं कार्यक्रम व्यवस्थापकको रुपमा २० वर्षभन्दा बढी कार्यानुभव रहेको छ । उनी आर्थिक पुनरुत्थान, रोजगारी प्रवद्र्धन, MSME विकास र सामाजिक लचिलोपनमा करिब USD१०० मिलियनको विविध कार्यक्रम पोर्टफोलियाकोे नेतृत्व गरिसकेको अनुभव छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ३२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


