सिटिजन्स बैंक र ‘र्यापिड’बीच सहकार्य, कर्पोरेट बैंकिङ सेवा एकै प्लेटफर्मबाट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’बीच सहकार्य भएको छ। यससँगै बैंकका कर्पोरेट ग्राहकले अब विभिन्न बैंकिङ सेवा सञ्चालनका लागि छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।
सहकार्यपछि ‘र्यापिड’ प्लेटफर्मलाई सिटिजन्स बैंकको प्रणालीमा एकीकृत गरिएको छ। ‘र्यापिड’ एपीआईमा आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्ने बैंकले जनाएको छ।
यो सुविधा प्रयोगसँगै कर्पोरेट ग्राहकले अब आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्मबाट खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न तथा आगामी दिनमा फण्ड ट्रान्सफर, ईएमआई भुक्तानी र तलब वितरणजस्ता सेवा सञ्चालन गर्न सक्नेछन्।
प्रयोगकर्ताले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्। सेवा प्रयोग गर्न ग्राहकले बैंकमा एक पटक मात्र मोबाइल बैंकिङजस्तै फाराम भर्नुपर्नेछ र त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार ‘र्यापिड’ले ग्राहकको अनुमति (कन्सेन्ट) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले सेवा प्रयोगलाई अझ सहज र पारदर्शी बनाउनेछ। प्लेटफर्ममा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएकोले डिजिटल कारोबार सुरक्षित हुने विश्वास लिइएको छ।
बैंकले एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
Visited 14 times, 14 visit(s) today


