नेपाली फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्ने औँल्याएका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले उक्त धारणा राखेका हुन् ।
यस क्षेत्रलाई मुलुकको औद्योगिक विकास, आर्थिक गतिविधि विस्तार तथा रोजगारी सिर्जनाको महत्त्वपूर्ण आधारका रूपमा स्थापित गर्न आवश्यक रहेको उनले बताए । अध्यक्ष अग्रवालले फर्निचर तथा फर्निसिङ उद्योगलाई केवल कुर्सी, टेबल वा सोफा उत्पादन गर्ने क्षेत्रका रूपमा मात्र नभई निर्माण, पर्यटन, होटल व्यवसाय, आवास, शैक्षिक संस्था तथा कार्यालय व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको रणनीतिक उद्योगका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
स्थानीय काठ, बाँस, धातु, कपडा, फोम, ग्लासलगायतका कच्चा पदार्थमा मूल्य अभिवृद्धि गरी हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्न फर्निचर उद्योगले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको अध्यक्ष अग्रवालले बताए। नेपालमा तीव्र सहरीकरण, नयाँ घर निर्माण, होटल तथा रिसोर्ट विस्तार, कार्यालयहरूको आधुनिकीकरण तथा जीवनशैलीमा आएको परिवर्तनसँगै फर्निचर तथा इन्टेरियर बजारको सम्भावना अत्यन्त ठूलो रहेको उल्लेख गरे।
सही नीति, प्रविधि र लगानीमैत्री वातावरण निर्माण गर्न सके यो क्षेत्र नेपालकै प्रमुख उद्योगमध्ये एक बन्न सक्ने उनको भनाइ थियो। अध्यक्ष अग्रवालले उद्योगले हाल कच्चा पदार्थको अभाव, उत्पादन लागत वृद्धि, बैंक ब्याजदर तथा वित्तीय पहुँचको समस्या, दक्ष जनशक्तिको कमी, विदेशी उत्पादनसँगको अस्वस्थ प्रतिस्पर्धा, आधुनिक प्रविधिको सीमित प्रयोग, ढुवानी तथा ऊर्जा लागत वृद्धि, अव्यवस्थित बजार र ब्रान्डिङको कमजोरीजस्ता चुनौतीहरू सामना गरिरहेको बताए।
“हामीले खुला बजारको नाममा स्वदेशी उद्योगलाई कमजोर बनाउने होइन, प्रतिस्पर्धी बनाउने नीति अवलम्बन गर्नुपर्छ,” उनले भने।
उनका अनुसार नेपाली फर्निचर तथा फर्निसिङ उद्योगको दिगो विकासका लागि गुणस्तर, डिजाइन तथा नवप्रवर्तन, र ब्रान्डिङ तथा बजार विस्तार तीन आधारभूत पक्ष अत्यन्त महत्त्वपूर्ण छन्।
विश्व बजार अहिले डिजाइन, टिकाउपन, वातावरणमैत्री उत्पादन र ग्राहक अनुभवमा केन्द्रित भएकाले नेपाली उद्योगले पनि समयअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
विश्व बजार इको-फ्रेन्ड्ली, स्मार्ट फर्निचर, मोडुलर डिजाइन तथा दिगो फर्निसिङतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै अग्रवालले नेपालमा रहेको काठकला, हस्तकला तथा परम्परागत डिजाइनको अद्वितीय क्षमतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके निर्यात क्षेत्रमा ठूलो छलाङ मार्न सकिने उनको भनाइ छ ।
नेपालको आर्थिक समृद्धि केवल आयात र रेमिट्यान्समा आधारित हुन नसक्ने भन्दै उनले उत्पादन, उद्योग र उद्यमशीलतामा आधारित अर्थतन्त्र निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गरे।
अन्तर्राष्ट्रिय प्रदर्शनी र व्यापार मेलामार्फत निर्यात प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। सरकारले प्रस्तुत गरेको आ.व. २०८३/८४ को बजेटले यस उद्योगले भोग्दै आएको प्रमुख समस्यालाई निदान गर्न खोजेको महशुस भएको उनले बताए ।


