लायन्स अन्तराष्ट्रिय नेपालको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै
काठमाडौं । Lions Clubs International अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना हुने भएको छ। सामाजिक तथा मानवीय सेवामा सक्रिय विश्वकै ठूलो संस्थामध्ये एक लायन्स अन्तर्राष्ट्रियको उक्त महाधिवेशन यही जेठ १९ गते काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुने जानकारी दिइएको छ।
महाधिवेशनको प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरे रहने कार्यक्रम रहेको छ। साथै, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २० जना लायन्स सदस्य सांसदहरूलाई पनि विशेष सम्मान गरिने आयोजकले जनाएको छ।
Lion Milan Thapa का अनुसार नेपालमा हाल लायन्सका झण्डै ७६ हजार सक्रिय सदस्य रहेका छन्। देशभर २ हजार ४ सयभन्दा बढी क्लब तथा १५ वटा डिस्ट्रिक्टमार्फत संस्था सञ्चालन भइरहेको बताइएको छ।
नेपालमा लायन्स स्थापना भएको ५९ वर्षको इतिहासमा पहिलो पटक महिला अध्यक्ष (काउन्सिल चेयरपर्सन) निर्वाचित भएकी Lion Milan Thapa ले हाल नेतृत्व सम्हालिरहेकी छन्। उनको कार्यकाल आगामी जुन ३० मा सकिनेछ भने जुलाई १ देखि नयाँ लायन्स वर्ष सुरु हुनेछ।
नयाँ नेतृत्व चयनका लागि यही जेठ १४ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ। लायन्स मल्टिपलको विधानअनुसार काउन्सिल परिषद्का अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिव पदका लागि निर्वाचन हुने व्यवस्था रहेको छ।
लायन्स अन्तर्राष्ट्रियले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको छ। भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपद्का समयमा राहत तथा उद्धार कार्यमा लायन्स क्लबका सदस्यहरूले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
त्यस्तै, अन्धोपन निवारण तथा दादुरा–रुबेला खोप अभियानमा समेत Lions Clubs International ले नेपाल सरकारसँग सहकार्य गर्दै आएको जनाएको छ।


