इजरायलले माग्यो २३ सय केयरगिभर, असार ७ सम्म आवेदन दिन सकिने
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्र मा २३ सय जना सहायक श्रमिक (केयरगिभर) छनोट गर्न बुधबारदेखि आवेदन दिन पाइने सूचना जारी गरेको छ।
योग्यता पुगेकाले असार ७ गतेसम्म आवेदन दिन पाउनेछन्। जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन्।
नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो।
विभागका अनुसार छनोट भएकामध्ये एक हजार जनालाई तत्काल पठाइनेछ। योग्यता पुगेकामध्ये अन्तिम छनोट भने लक्की ड्रबाट हुने विभागले जनाएको छ।
त्यसरी छानिएका सहायक श्रमिकले दीर्घकालीन स्याहार केन्द्रमा जुनसुकै उमेरका गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्ने विभागले जनाएको छ। श्रमिकको करार अवधि ५ वर्षसम्म रहनेछ।
यसमा छनोट हुने श्रमिकको योग्यता तोकिएको छ। जसमा २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने, १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम लिएको हुनुपर्नेछ।
यसमा इजरायलले तोकेको अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पनि तोकिएको छ।
इजरायलले भाषा परीक्षा लिनका लागि सिन इन्टरनेशनल क्वालिफिकेशन प्रालिलाई तोकेको छ।
इजरायलमा जाने केयरगिभरको मासिक तलब ६ हजार चार सय ४३ इजरायली मुद्रा (करिब तीन लाख ४७ हजार रुपैयाँ) छ । यसमा खाना र आवासको खर्च भने आफैंले बेहोर्नुपर्ने हुन्छ। इजरायल जाने सबै लागत शुल्क भने श्रमिककै हुनेछ।
इजरायलले सन् २०२२ अगस्टदेखि नेपालबाट दीर्घकालीन स्याहार केन्द्रका लागि केयरगिभर लैजान थालेको हो।
सुरुमा सीमित संख्यामा श्रमिक माग भए पनि अहिले इजरायलमा श्रमिक अभाव बढ्दै जाँदा थप नेपाली लैजाने प्रक्रिया विस्तार हुँदै गएको छ।


