मुक्तिनाथ विकास बैंक सीईओ तारा मानन्धरले सम्हाले कार्यभार, २५ वर्षको अनुभव
काठमाडौं। गत वैशाख ४ गते मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त तारा मानन्धरले आजदेखि कार्यभार सम्हालेका छन्। २५ वर्षको बैंकिङ अनुभवसहित सीईओ पदको जिम्मेवारी सम्हालेका मानन्धरको ४ वर्षे कार्यकाल रहनेछ।
यसअघि बैंकको सीईओको जिम्मेवारी सम्हालिरहेका प्रद्युमन पोखरेलको कार्यकाल वैशाख मसान्तमा सकिएपछि मानन्धरले आजदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। नेपाली बैंकिङ क्षेत्रमा परिचित र उत्कृष्ट छवि कमाएका मानन्धर अनुभवी र दक्ष बैंकरका रूपमा चिनिन्छन्। उनको बैंकिङ यात्रा साविकको नेपाल बंगलादेश बैंकबाट सुरु भएको हो। त्यसपछि उनले साविकको एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, साविकको बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्शियल बैंकलगायत नेपालका विभिन्न प्रतिष्ठित बैंकहरूमा काम गरे।
उनी यसअघि नै मुक्तिनाथ विकासको डेपुटी सीईओ रहिसकेका हुँदा बैंकको आन्तरिक संरचना, कार्यसंस्कृति र रणनीतिसँग परिचित छन्। मानन्धर केही समयका लागि बैंकिङ क्षेत्रबाट टाढिएर मिडिया उद्योगमा प्रवेश गरेका थिए। उनी २०८१ वैशाख ३ गतेदेखि डिस मिडिया नेटवर्कको सीईओको रूपमा कार्यरत थिए।
तर, बैंकिङ क्षेत्रप्रतिको उनको गहिरो लगाव र दक्षताले उनलाई पुनः यही क्षेत्रमा तान्यो। मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिले उनको बहुआयामिक अनुभव र नेतृत्व क्षमतालाई दृष्टिगत गरी सीईओमा नियुक्त गरेको बुझिन्छ।


