सि.आई.एम नेपाल मानव संसाधन सम्मेलनको दोश्रो संस्करण प्रारम्भ
विराटनगर । नेपालको औद्योगिक विकासलाई दिगो, प्रतिस्पर्धी तथा उत्पादनमुखी बनाउन सक्षम र दक्ष जनशक्ति विकास र क्षमता वृद्धि गर्ने उद्देश्यका साथ आयोजित सि.आई.एम नेपाल मानव संसाधन सम्मेलन २०२६ को दोस्रो संस्करण आज औपचारिक रूपमा उद्घाटन भई प्रारम्भ भएको छ ।
उद्योग, शिक्षा र सरकारी क्षेत्रबीच समन्वयमार्फत दक्ष जनशक्ति विकास गर्ने मूल उद्देश्यसहित आयोजित दुईदिने सम्मेलनमा उद्योगी व्यवसायी, नीति निर्माता, शिक्षाविद्, मानव संसाधन विज्ञ तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ ।
कार्यक्रमको समुद्घाटनमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले वर्तमान समयको आर्थिक तथा औद्योगिक प्रतिस्पर्धामा सक्षम, दक्ष र उत्तरदायी मानव संसाधनको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले शिक्षा, सीप विकास र उद्योगबीचको समन्वयलाई सुदृढ गर्दै युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग र श्रम बजारबीचको दूरी घटाउने, नयाँ सीपको मागअनुसार जनशक्ति तयार पार्ने तथा उद्योग आफैंले दक्ष जनशक्ति निर्माण गर्ने संस्कार विकास गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । अध्यक्ष राठीले उद्योगले दक्ष काम गर्ने मानिस नपाउने र पाएपनि नटिक्ने चुनौती भोगिरहेको उल्लेख गर्दै यो केवल श्रमिक अभावको समस्या नभई दक्षता, कार्यसंस्कृति, अवसर, सुरक्षा र विश्वाससँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले, उद्योगहरूले हामीलाई तयार जनशक्ति चाहिन्छ भन्ने सोचबाट बाहिर निस्केर आफैं सक्षम जनशक्ति निर्माण गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले उद्योग र एकेडेमिया क्षेत्रबीचको समन्वयलाई अत्यन्त महत्वपूर्ण विषयका रूपमा उल्लेख गर्दै शैक्षिक संस्थाहरूले उद्योगको आवश्यकता अनुसार पाठ्यक्रम निर्माण गर्नुपर्ने तथा उद्योगहरूले इन्टर्नशिप, प्रयोगात्मक तालिम, अनुसन्धान र रोजगारीका अवसरमा सहकार्य गर्नुपर्ने धारण राख्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले नेपालको उद्योग क्षेत्र प्रविधिगत परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै मानव संसाधन व्यवस्थापनलाई रणनीतिक रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले दक्ष जनशक्ति बिना औद्योगिक विकास सम्भव नरहेको उल्लेख गर्दै निजी क्षेत्रले सीप विकास र नेतृत्व निर्माणमा थप लगानी गर्नुपर्ने धारणा राख्नुभयो।
पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. बिजु थपलियाले शैक्षिक क्षेत्र र उद्योग क्षेत्रबीचको दूरी घटाएर व्यवहारिक तथा बजारमुखी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादनका लागि अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक शिक्षाको समन्वय आवश्यक रहेको बताउनुभयो । विश्वव्यापी आर्थिक तथा प्राविधिक परिवर्तनले मानव संसाधन व्यवस्थापनको स्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै उहाले अबको युगमा नेतृत्व क्षमता र सिर्जनशिलतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
आजदेखि सुरु भएको सम्मेलनमा दुई दिनसम्म सञ्चालन हुने १० वटा विभिन्न सत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले बहुराष्ट्रिय कम्पनीहरूको अभ्यास, प्रविधिगत परिवर्तनको प्रभाव, डिजिटल एचआर प्रणाली, कर्मचारी स्थायित्व, श्रम ऐन तथा औद्योगिक विकासमा मानव संसाधनको भूमिकाबारे आफ्नो अनुभव र धारणा प्रस्तुत गर्नुका साथै मोटिभेशनल स्पीकरले सफलताका सुत्रहरुका वारेमा प्रकाश पार्नु हुनेछ ।
कार्यक्रमलाई स्विस सरकार अन्तर्गतको इन्स्योर हेल्भेटास, एनभीक्यूएस, क्वालिटी परियोजनाको प्राविधिक सहयोग रहेको छ भने टाइटल स्पोन्सर कुमारी जब्स प्रा.लि., सिल्भर स्पोन्सर रिगो एचआर रहेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । सम्मेलनमा सुनसरी मोरङ औद्योगिक करिडोरमा अवस्थित विभिन्न उद्योग प्रतिष्ठानका संचालक, व्यवस्थापक, मानव संशाधन प्रमुख, विभिन्न विश्वविद्यालयका प्राज्ञिक वर्ग, विकास साझेदार संस्थाका प्रतिनिधिहरु गरि १५० जनाको सहभागिता रहेको छ ।
आयोजक उद्योग संगठन मोरङका अनुसार सन २०२४ मा सम्पन्न पहिलो संस्करणले मानव संसाधनलाई औद्योगिक रूपान्तरणको प्रमुख उपलब्धिका रूपमा स्थापित गरेको थियो भने दोस्रो संस्करणले ती उपलब्धिहरूलाई थप सुदृढ गर्नेछ ।


