डा. गोविन्द रिजालको दोस्रो पुण्यतिथिमा उहाँप्रति समर्पित Bhutan Democracy Digital Archive को घोषणा
भूटानी प्रजातान्त्रिक अभ्यासहरूको निरन्तर अनुगमन तथा प्रजातन्त्रका लागि भएका संघर्षहरूको इतिहास अभिलेखका लागि द भूटान वाचले Bhutan Democracy Digital Archive को घोषणा गरेको छ । यो अभिलेख वैज्ञानिक, शिक्षक, लेखक तथा द भूटान जर्नलका संस्थापक सह–सम्पादक डा. गोविन्द रिजाल स्मृतिमा समर्पित हुनेछ ।
डा. रिजालको ५ मे २०२४ मा कीर्तिपुर, काठमाडौंमा भएको सडक दुर्घटनामा निधन भएको थियो। उहाँ भूटानमा जन्मनुभएको थियो र १९९० को दशकको सुरुवातमा आफ्नो मातृभूमिबाट निष्कासित हुनुपरेको थियो । तेस्रो देश पुनर्स्थापनाका अवसरहरू हुँदाहुँदै पनि उहाँले त्यता जाने निर्णय गर्नु भएन । उहाँले नेपालमै बसेर भुटानी प्रजातान्त्रिक अभियानमा रहने चाहना गर्नुभयो । यही निर्णयले उहाँको सम्पूर्ण व्यक्तित्वलाई परिभाषित गर्थ्यो—उहाँ आफ्नो व्यक्तिगत सहजताभन्दा समुदायलाई अगाडि राख्ने, र पछाडि परेकाहरूका लागि निरन्तर काम गर्ने व्यक्ति हुनुहुन्थ्यो ।
धान प्रजनन र आणविक जीवविज्ञानका विज्ञका रूपमा डा. रिजालले नेपाल र फिलिपिन्सका समुदायहरूको खाद्य सुरक्षामा योगदान पुर्याउनु भयो । १९९० को दशकका शरणार्थी शिविरहरूमा शिक्षकका रूपमा उहाँ धेरै युवा भूटानीहरूको लागि प्रेरणादायी र आत्मीय व्यक्तित्व बन्नुभयो । उहाँको गणितीय क्षमतालाई उहाँका विद्यार्थीहरू संझिरहन्छन् । उहाँले आफ्नो जीवनयात्रा र भूटानको राजनीतिक अवस्थाको विश्लेषण समेटिएको आत्मकथात्मक कृति ‘ए परदेशी इन प्याराडाइज’ तथा नेपाली कथासङ्ग्रह ‘बेजोड बन्ध’ प्रकाशित गर्नुभएको थियो। निधनको समयमा उहाँ भूटानको विस्तृत इतिहास लेख्ने कार्यमा जुटिरहनुभएको थियो, जुन पाण्डुलिपि द भूटान वाचले उचित समयमा प्रकाशित हुने आशा राखेको छ ।द भूटान जर्नलका सह–सम्पादकका रूपमा उहाँले जर्नललाई भूटान र भूटानी डायस्पोरासँग सम्बन्धित विषयहरूमा बौद्धिक बहस र मन्थनको मञ्च बनाउनुभयो । उहाँ हरेक व्यक्तिलाई समान सम्मान र आत्मीयताका साथ व्यवहार गर्नुहुन्थ्यो। उहाँको अनुपस्थितिले ठूलो रिक्तता छोडेको छ ।
द भूटान वाचले रिजालकृत अनुसन्धान र लेख तथा उहाँको संझनालाई चिरस्थायी बनाउन Rizal Memorial Archives (rizalmemorialarchives.org) तयार गरेको छ । उहाँलाई चिन्ने सबैलाई हामी यस अभिलेखागारलाई समृद्ध बनाउन योगदान गर्न हार्दिक अनुरोध गर्दछौँ । तपाईं उहाँको विद्यार्थी हुनुहुन्थ्यो, अनुसन्धानका सहकर्मी, उहाँका पुस्तकका पाठक, वा केवल उहाँसँग भेटघाट मात्र भएको व्यक्ति — रिजाललाई संझाउने हर प्रकारका सामाग्री उपलब्ध गराईदिन अनुरोध गर्दछौं । व्यक्तिगत श्रद्धाञ्जली, संस्मरण, तस्वीर, पत्र, आलेख, शैक्षिक पत्राचार वा उहाँसँग सम्बन्धित कुनै पनि सामग्री हामी उपलब्ध गराईदिनु भए हामी आभारी हुनेछौं । यो अभिलेख हामी सबैको साझा सम्पत्ति हो ।
Bhutan Democracy Digital Archive ले डा. रिजालको स्मृतिलाई अझ सुदृढ बनाउनेछ । यस अभिलेखालयमा भूटानको प्रजातान्त्रिक संस्कार र अभ्यासहरूलाई पाँच प्रमुख वर्गमा अभिलेखिकरण गर्नेछ—राजनीतिक बहुलवाद, समावेशीकरण र विविधता, न्यायपालिका र कानूनी शासन, नागरिक समाज तथा सञ्चारमाध्यम, र सुशासन । सदृढ प्रजातन्त्रका लागि राजनीतिक विकल्पहरु आवश्यक पर्छ । राजनैनितक दलहरूले स्वतन्त्र रूपमा गठन, सञ्चालन र विचार अभिव्यक्त गर्न पाउनुपर्छ । नागरिकहरूले मतदान र अन्य राजनैतिक सहभागिता जनाउन पाउनु पर्छ । दलीय उपस्थिति, कानुनी वातावरण, निर्वाचन कानून, मतदाता सहभागिता र निर्वाचन व्यवस्थापनसम्बन्धी सामग्री सङ्कलन गरेर यो अभिलेखालयले भूटानको निर्वाचन प्रणाली समावेशी, प्रतिस्पर्धी र पारदर्शी छ कि छैन भन्ने मूल्याङ्कनमा मद्दत गर्नेछ ।
लोकतन्त्रको शक्ति केवल संस्थाहरूमा होइन, ती संस्थाहरूमा को–को समावेश छन् भन्नेमा पनि निर्भर हुन्छ। त्यसैले राजनीतिक, जातीय, धार्मिक र लैङ्गिक प्रतिनिधित्व अभिलेख गर्नु लोकतन्त्रको स्वास्थ्य मूल्याङ्कनका लागि अत्यावश्यक छ । समावेशीकरण र विविधता वर्गमा हामी भुटानको प्रजातान्त्रिक सुधाना भएका प्रगति र कायम रहेका संरचनात्मक अवरोध दुवैलाई समेट्नेछौं । स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड हो—यसले अधिकारहरूको रक्षा गर्छ र सरकार कानुनअनुसार चलिरहेको छ कि छैन भन्ने सुनिश्चित गर्छ । त्यसैले अभिलेखालयले न्यायिक नियुक्ति, न्याय सुरक्षा, पारदर्शिता, र राजनीतिक प्रभावका संकेतहरू अभिलेख गर्नेछ । स्वतन्त्रता विस्तार गर्ने वा सीमित गर्ने दुवै प्रकारका कानुन र कानुनी विकासको अभिलेखिकरणले भूटानको कानुनी संरचनाले त्यहाको प्रजातान्त्रिक जीवनलाई कसरी आकार दिएको छ भन्ने देखाउनेछ ।
स्वतन्त्र अभिव्यक्ति, नागरिक समाज र स्वतन्त्र पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् । त्यसैले अभिलेखालयले भुटानीहरूले कत्तिको स्वतन्त्र रूपमा सङ्गठित र अभिव्यक्ति गर्न पाएका छन् भन्ने अभिलेखिकरण गर्नेछ । प्रेस स्वतन्त्रता, नागरिक समाज सम्बन्धि कानून, मानवअधिकारबादी संस्थाहरू, संयुक्त राष्ट्रसंघीय मानव अधीकार समीक्षा प्रक्रिया, र अधिकार उल्लङ्घनका प्रमाण सङ्कलन गरेर हामी भूटानमा नागरिक कत्तिको सुरक्षित छन् र प्रजातान्त्रिक अभ्यास गर्न पाएका छन भन्ने चित्र प्रस्तुत गर्नेछौं । सुशासन वर्गमा हामी भूटानमा शक्ति कसरी प्रयोग हुन्छ भन्ने अभिलेख गर्नेछौं । कसले नेतृत्व सम्हाले, उजुरी र गुनासाहरू कसरी सम्बोधन भए, र कहाँ भ्रष्टाचार वा अधिकार दुरुपयोगका घटना भए भन्ने अभिलेखि राखिनेछ । जवाफदेहिता, नैतिकता र भ्रष्टाचारविरोधी संयन्त्रसम्बन्धी सामग्रीले कार्यपालिका र प्रशासनभित्रको पारदर्शिता र जिम्मेवारीको चित्र दिनेछ ।
अभिलेखालयमा भूटानका प्रजातन्त्रिक संघर्षहरूको कथा पनि संग्रहित हुनेछ । २००८ मा भुटान शान्तिपूर्ण रुपमा प्रजातान्त्रिक सही भए पनि पूर्ण सत्य हैन । १९५०, १९८० र १९९० का दशकमा प्रजातान्त्रिक संघर्षहरु भए । ति संघर्षका कथाहरुको उचित अभिलेखीकरण भएको छैन । अभिलेखालयले ती सबै प्रजातान्त्रकि संघर्षहरुको पनि अभिलेखिकरण गर्नेछ ।
अभिलेखालयले कसैको पक्ष वा विपक्ष लेने छैन वा विचार प्रकाशित गर्ने छैन । यसले प्रमाणहरको दस्तावेज बनाउने छ ताकि अनुसन्धानकर्ता, पाठक,नीतिनिर्माता तथा सर्वसाधारणले प्रमाण पढेर आफ्नै निष्कर्ष निकाल्न सकून् । हामी Bhutan Democracy Digital Archive मा योगदान गर्न आह्वान गर्दछौं । यदि तपाईंसँग भूटानको लोकतान्त्रिक इतिहास वा वर्तमान अभ्याससँग सम्बन्धित दस्तावेज, तस्वीर, ध्वनिमुद्रण, व्यक्तिगत विवरण वा कुनै पनि अभिलेख छन् भने कृपया हामीलाई उपलब्ध गराईदिनु होला । हामी उपलब्ध गराउनेको नाम स्पष्ट रुपमा उल्लेख गर्नेछौं । यो अभिलेखालयमा नयाँ सामग्रीहरू भेटिँदै जाँदा थपिँदै जानेछन् । यसको सफलता भूटानी समुदाय तथा भुटानको प्रजातान्त्रिक इतिहासप्रति चासो राख्ने सबैको सहभागितामा निर्भर गर्दछ ।


